www.tandavnews.com
Fact ~ In search of truth

खोलिए कोशी ब्यारेजका ५६ वटै ढोका

विराटनगर ।

सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ ।

लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए ।

नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए ।

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । हिजो शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो ।

यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ ।एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो ।

बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् ।

पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ ।

बाढीपीडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह

यसैबीच प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पुर्याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।

शनिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री तुम्बाहाङले वर्षा र पहिरोले ज्यान गुमाएका, बेपत्ता भएका र घरबारविहीन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउँदै सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

बाढी, पहिरोले प्रदेश नं १ उच्च जोखिममा परेको भन्दै उहाँले विज्ञप्तिमा पीडितपरिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुट्न सबै पक्षसँग आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुबानले प्रभावित भएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रका सबैमा उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.