www.tandavnews.com
Fact ~ In search of truth

प्राकृतिक शहरमा कृत्रिम मैदान हुदैन :राखेप सदस्य सचिव सिलवाल

पोखरा ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमै आयोजना गरिने बताएका छन् ।

खेलकूद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साग र नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा सम्पन्न गर्न चुनौती रहे पनि त्यसको सामना गरेर सोही मितिमा गरिने स्पष्ट पारे ।

यही वर्षको डिसेम्बर १ देखि ९ सम्म नेपालमा तय भएको साग खेलकूदलाई सम्पन्न गर्न भौतिक पूर्वाधार निर्माण र खेलाडीको तयारी चुनौतीको रूपमा रहेको बताउँदै उनले भने, “जे कामका निम्ति आएको हुँ, त्यो गर्न नसके म मेरो पदमा बस्नुको कुनै अर्थ हुँदैन, चुनौती र जिम्मेवारीलाई समन्वय गरेर अघि बढ्छु ।”

सिलवालले नेपाल क्रिकेट सङ्घ (क्यान)को विवाद समाधान गर्नका लागि पाँच सदस्यीय कमिटी रहेको बताउँदै एक हप्ताभित्रमा समाधानको पहल गरिने स्पष्ट पारे ।

उनले पोखरा रङ्गशालाभित्र निर्माण भइरहेको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको मैदान प्राकृतिक घाँसे नै बन्नुपर्ने बताउँदै प्राकृतिक शहरमा कृत्रिम मैदान हुन नहुनेमा जोड दिए ।

रङ्गशाला निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सिलवालले गुणस्तरीय हिसाबले साग खेलकूद अघि निर्माण सम्पन्न गरिनुपर्ने बताए ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनका साथ सदस्यसचिव सिलवालले निर्माणाधीन फुटबल रङ्गशालाको निरीक्षण गर्दै राष्ट्रिय गौरवको आयोजना भएकाले आगामी कात्तिक १५ गतेभित्रमा रङ्गशाला निर्माणको काम सक्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.