
पोखरा ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका नौडाँडा–कार्कीनेटा सडकखण्डको जुग्लेखोलामा पक्की पुल निर्माण भएको छ ।
कात्तिक महीनामा निर्माण शुरु गरिएको २२ मिटर लम्बाइ र छ मिटर चौडाइको सो पुल नेपाल सरकार र विश्व बैंकको संयुक्त रु दुई करोड ३१ लाख १६ हजारको लगानीमा तोकिएकै समयमा निर्माण सम्पन्न गरिएको हो ।

शनिबार निर्माण सम्पन्न पुलको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय जनता र जनप्रतिनिधिको निगरानीमा हुने कुनै पनि विकास निर्माणका कार्य छिटोछरितो र गुणस्तरीय हुने विश्वास व्यक्त गरे।
मुलुकबाट ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गर्दै कछुवाको चालमा नभई खरायोको गतिमा विकास निर्माण गरिनुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै उनले प्रदेश सरकारले यस वर्षलाई भौतिक निर्माणको वर्षका रूपमा लिएको जानकारी दिए ।
प्रदेश सरकारले दुई वर्षभित्र ‘एक घर एक धारा र सबैका घरमा उज्यालो’ पु¥याउने अभियान सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री गुरुङले उर्वरफाँटमा सिँचाइको व्यवस्था गरी कृषि उत्पादनमा वृद्धि गर्दै खाद्यान्नमा निर्भर हुने बताए।
प्रदेशका भौतिक योजना तथा विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले दुई वर्षभित्र काठेपोल विस्थापित गरी स्टिलपोल राख्ने योजनाअन्तर्गत तीव्ररुपमा काम भइरहेको जानकारी दिए ।
विकास निर्माणको काममा ढिलासुस्ती भएका कारण मुलुकले विकासले गति लिन नसकेको बताउँदै उनले तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने धारणा राखे ।
गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले मुलुकमा सङ्घीयता आएसँगै जनताले घरआँगनमै सेवा प्राप्त गरेको बताउँदै निर्माणकार्यलाई व्यवस्थित गरिने बताए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्माले उत्पादनमा वृद्धि गर्नका लागि भौतिक विकासमा जोड दिइनुपर्ने बताए ।
आँधीखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेल, उपाध्यक्ष शर्मिलादेवी पौडेल क्षेत्री, वडाध्यक्ष कृष्णप्रसाद पनेरुलगायतले पालिकाको विकास निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढन्े प्रतिबद्धता व्यक्त गरे। (रासस)
–––
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.