www.tandavnews.com
Fact ~ In search of truth

प्रभावकारी बन्दै ‘ओसिएमसी’

रासस । धवलागिरि अञ्चल अस्पताल बागलुङमा रहेको लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी० बाट चालू आवको हालसम्म १३३ जनाले सेवा लिए । गत आवमा केन्द्रबाट सेवा लिने लैङ्गिक हिंसापीडितको सङ्ख्या जम्मा १०० थियो । विसं २०६८ देखि शुरु भएको केन्द्रबाट अहिलेसम्म ६३८ जनाले सेवा लिएको केन्द्रको आँकडामा उल्लेख छ ।

सो आँकडामा लैङ्गिक हिंसापीडित महिलाको सङ्ख्या ५६६ र पुरुषको जम्मा ७२ छ । केन्द्रमा आउने लैङ्गिक हिंसापीडितको सङ्ख्या वर्षेनी थपिँदै गएको ‘ओसिएमसी’ का ‘फोकल पर्सन’ देवी भट्टराईले बताउनुभयो । “शुरुको वर्ष जम्मा २५ ले सेवा लिएका थिए, यो वर्ष १३३ पुगिसक्यो”, उहाँले भन्नुभयो । लैङ्गिक हिंसामा पर्नेमा सबैभन्दा बढी महिला छन् । चालू आवमा केन्द्रमा आएका १३३ पीडितमध्ये ११३ महिला छन् ।

केन्द्रको आँकडाअनुसार पुरुषको सङ्ख्या पनि वर्षेनी बढ्दै गएको देखिन्छ । शुरुको वर्ष जम्मा तीन हिंसापीडित पुरुषले सेवा लिएकामा यो वर्ष सङ्ख्या बढेर २० पुगेको छ । अघिल्लो वर्ष उक्त सङ्ख्या जम्मा नौ थियो । तीन वर्षको बच्चादेखि ९६ वर्षको वृद्ध महिलासम्म सेवा लिन ‘ओसिएमसी’ मा आएको अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले बताउनुभयो ।“केन्द्र सञ्चालनमा आएपछि पीडितहरु आउने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “हिंसा सहेर बस्ने, लुकाउने प्रवृत्तिमा कमी आएको छ ।”

Batas

अस्पतालमा आधारित उक्त केन्द्रबाट निःशुल्क उपचार, कानूनी तथा मनोसामाजिक परामर्श उपलब्ध हुने गरेको छ । ‘ओसिएमसी’ शुरु भएपछि लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमासमेत सघाउ पुगेको छ । केन्द्रमा पाउने उपचार, परामर्श सेवाले न्यायको लागि कानूनी बाटो समात्नसमेत पीडितलाई सहज भएको केन्द्रका ‘फोकल पर्सन’ भट्टराईको भनाइ छ । बढीजसो यौन, घरेलु हिंसा र मानसिक यातनाबाट पीडित व्यक्ति केन्द्रमा आउने गरेका छन् ।

बलात्कार, विषादी सेवन, आत्महत्याको प्रयासजस्ता घटनाका पीडित पनि केन्द्रमा आउँछन् । “लैङ्गिक हिंसाबाट पीडित र प्रभावितलाई एकै द्वारबाट उपचार, परामर्श सेवा दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “हिंसाका घटना व्यवस्थापनमा केन्द्रले महत्वपूर्ण भूमिका खेलेको छ ।”

उहाँले अञ्चल अस्पतालमा उपचार हुन नसक्ने अवस्थाका पीडितलाई अन्य ठूला अस्पतालमा पठाउने गरिएको बताउनुभयो । अन्य अस्पतालसम्म पुग्नलाई यातायात खर्चसमेत अस्पतालले उपलब्ध गराउँछ । हिंसामा परी केन्द्रको सम्पर्कमा आउने व्यक्तिलाई आकस्मिकलगायतका सबै सेवा निःशुल्क उपलब्ध हुन्छ ।

केन्द्रमा बागलुङसहित पर्वत, म्याग्दी र अन्य जिल्लाबाट समेत हिंसापीडित आउने गरेका छन् । हिंसाबाट पीडित बनेर आउनेमा बढीजसो १५ देखि ४९ वर्ष उमेर समूहका छन् । “यहाँ उपचार हुन नसक्ने अवस्थामा मात्रै पोखरा पठाउने गरिएको छ”, प्रमुख चिकित्सक राजभण्डारीले भन्नुभयो, “क्षेत्रीय अस्पतालमा पनि ओसिएमसी भएकाले पीडितले निःशुल्क उपचार सेवा पाउँछन् ।” केन्द्रमा एक पीडितलाई तीनदेखि पाँच दिनसम्म राखेर उपचार, कानूनी, मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराइन्छ ।

जटिल र संवेदनशील अवस्थामा भने बढी समयसम्म पनि राखेर उपचार गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय, अल्पकालीन सेवा केन्द्र, बाल कल्याण समिति र अस्पतालकै अन्य विभागबाट समेत पीडित ‘ओसिएसी’ को सम्पर्कमा आइपुग्छन् ।

कतिपय पीडित भने सिधै ‘ओसिएमसी’ मा आउने गरेका छन् । केन्द्रले पीडितलाई खाना, आवास, सुरक्षा, कानूनी परामर्शलगायतका सेवा उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय, सरकारी वकिलको कार्यालयलगायतसँग समन्वय र सहकार्य गर्दै आएको छ ।

सरकारको लैङ्गिक हिंसाविरुद्धको कार्ययोजना–२०१० का आधारमा स्वास्थ्य मन्त्रालयले हालसम्म ५५ जिल्लामा ‘ओसिएमसी’ सेवा शुरु गरिसकेको छ । साविकको पश्चिमाञ्चल क्षेत्रमा उक्त सेवा शुरु गर्ने बागलुङ पहिलो जिल्ला हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.