www.tandavnews.com
Fact ~ In search of truth

भानुभक्तको योगदान अतुलनीय : प्रदेश प्रमुख कुँवर

पोखरा (रासस) । 

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले नेपाली भाषा र संस्कृतिको जगेर्नामा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आज पोखराको फूलबारीस्थित भानुपार्कमा आयोजित कार्यक्रममा उनले नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको चर्चा गरे ।

Batas

समाजमा विभिन्न किसिमबाट योगदान गर्न सकिन्छ भन्ने कुराको महत्वपूर्ण उदाहरण भानुभक्त भएको बताउँदै उनले भने, “भाषा र साहित्यका माध्यमबाट भानुभक्तले पुरयाएको योगदान हामी सबैका लागि प्रेरणादायी छ, उहाँ गण्डकी प्रदेशको मात्र नभई राष्ट्रकै अमूल्य निधि हुनुहुन्छ ।”

गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले नेपाललाई नेपाली भनेर चिनाउने प्रमुख माध्यम नै नेपाली भाषा भएको चर्चा गरे ।

प्रतिष्ठानका अध्यक्ष एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले भानुभक्तको योगदानको कदर गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा भानुभक्तको पूर्ण कदसहितको शालिक र पार्कलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको जानकारी दिए।

प्रतिष्ठानका महासचिव अम्बिकाप्रसाद भट्टराईले नेपाली भाषामा रामायणको अनुवादका साथै भानुभक्तले रचना गरेका विभिन्न कृतिका जगमा नेपाली भाषा साहित्य वर्तमान अवस्थासम्म आइपुगेको धारणा राखे ।

कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले भानुभक्तीय रचना वाचन, प्रतिष्ठानका कोषाध्यक्षले भानुभक्तको सम्झानामा गीत प्रस्तुत गर्नुका साथै भानु मार्ग आमा समूहकी अध्यक्ष मिठु गुरुङले भानुभक्तको योगदानको स्मरण गरे ।

कार्यक्रममा प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश प्रमुख सचिव बस्याल, प्रतिष्ठानका अध्यक्ष सरुभक्त लगायतले भानुभक्तको पूर्ण कदको शालिकमा माल्र्यापण गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.