www.tandavnews.com
Fact ~ In search of truth

घैँटामा पानी हुँदा मात्र निदाउँछन् स्थानीय

संजय रेग्मी
पर्वत. ताण्डव न्यूज । 

पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित पूर्कोटकी राधा परियार यतिबेला ढुक्कले निदाउन थालेकी छिन् । बिहान, दिउँसो र साँझ त भैहाल्यो रातिमा पनि पानीकै सपनाले सताउँथ्यो उनलाई । यतिबेला भने उनको घरमा प्लाष्टर गरेर बनाइएका पानीका घैँटाहरु भरीएका छन । यही कारण उनले रातिमा अब पानीको सपना देख्नुपर्दैन् ।

बिहान, दिउँसो र साँझमा पनि पानीको खोजी गर्दै घरबाट घण्टौँ हिँडेर पुगिने इनारमा पालोमा बस्नु पर्दैन् । राधाको जस्तै दैनिकी शंकरपोखरीका अन्य महिला र पुरुषहरुको पनि थियो । राति अबेरसम्म पनि पानीको जोहो गर्न धारा र कुवामा लाइनमा बस्ने गरेका उनीहरु बिहान ३ नबज्दै उठेर तिनै पानीको स्रोतहरुमा जम्मा भैसकेका हुन्थे ।

Batas

गाउँका सीमित ठाउँमा रहेका इनार र कुवामा पालो बसेर एक गाग्रो पानी जसोतसो भर्नु । एक गाग्री पानी भर्न घण्टौं समय छुट्याउनु पर्दथ्यो । तर, अहिले उनीहरूको दैनिकी फेरिएको छ । शंकरपोखरीमा रहेको पानीको समस्या टार्नका लागि आकाशे पानी जम्मा गर्ने सिमेन्टका घैँटा निर्माण गरिएको छ । जसले शंखरपोखरीस्थित पूर्कोटमा रहेको दलित बस्तीमा राहत भएको छ ।

पूर्कोटमा खानेपानीको चरम अभाव रहँदै आएको थियो । यस क्षेत्रका बासिन्दालाई खानेपानीको समस्या समाधानका लागि वर्षाको पानी संकलन गर्न सिमेन्टका घैँटाहरु निर्माण गरिएको छ । वडाध्यक्ष अर्जुनबहादुर कार्कीका अनुसार १ सय ३८ घरहरूमध्ये १ सय ३२ घरमा घैँटा निर्माण गरिएको छ । एउटा घैँटाको क्षमता कम्तीमा दुई हजार लिटर रहेको छ । घैंटा बनेपछि गाईभैँसीलाई पानी खुवाउन, भाँडा धुन, करेसाबारीमा सिँचाइ गर्न समस्या नभएको पूर्कोटकी पार्वती परियार बताउँछिन् ।

‘बिहान र बेलुका पानी भर्न कुवामा लाइनमा बस्नुपरेको थियो, अहिले घरमै आकाशे पानी जम्मा हुन्छ, पहिलेको जस्तो समस्या हटेको छ,’ उनले भनिन, ‘अहिले वर्षा पनि धेरै भइरहेकाले घैँटामा पानी भरिएको छ । तर खानेपानीका लागि भने समस्या उस्तै छ ।’

गाउँमा खानेपानीको भरपर्दो र निरन्तरको स्रोत नहुँदा शंकरपोखरीका विभिन्न ठाउँका बासिन्दाहरूले वर्षौँदेखि समस्या झेल्दै आएका थिए । अधिकांश बासिन्दाको बिहान र बेलुकाको समय पानीको खोजीमै खर्च हुने गरेको थियो । बर्खा यामका जेठ, असार, साउन र भदौ महिनामा प्रशस्त वर्षा हुने भएकाले पानीको समस्या नहुने भए पनि हिउँदका महिनामा भने काकाकुलकै जिन्दगी जिउनुपर्ने बाध्यता रहेको स्थानीय रामप्रसाद रिजाल बताउँछन् ।

त्यस क्षेत्रका बासिन्दाको खानेपानीको संकट टार्नका लागि बोरिङ गरेर पानी निकाल्ने काम चलिरहेको छ । बोरिङबाट निकालिने पानी र आकाशे पानी जम्मा गर्दा घैँटाले शंकरपोखरीमा पानीको अभाव टार्न धेरै राहत भएको वडाध्यक्ष कार्की बताउँछन् ।

‘वर्षैँदेखि यहाँका नागरिकले भोग्दै आएको ठूलो समस्या नै पानीको हो । पहिले पनि घैँटाहरु त यसरी नै निर्माण गरिएको थियो, त्यसैबाट काम चल्दै आएको थियो । अहिले पनि काँटा निर्माण गर्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘नगरपालिकाबाट पनि यहाँ रहेका पानीका कुवा र इनार संरक्षण गर्नका लागि बजेट विनियोजन गर्न आवश्यक पहल गरिरहेको छु ।’

गर्मीयाम सुरु भएसँगै हरेक वर्ष शंरपोखरीबासीहरुले दुःख झेल्दै आएका छन् । उचित मुहानको व्यवस्था नहुँदा र मुहानको पानी सुक्दै जान थालेपछि खानेपानीको समस्या भएको स्थानीय शिक्षक हरिप्रसाद तिवारी बताउँछन् ।

‘पानीका घैँटा निर्माण भएका घरहरुलाई वर्षा हुने समयमा केही सजिलो हुने भएपनि बर्षा नभएको बेलामा घैँटा निर्माण नभएका घरहरुमा भने निकै समस्या हुने गरेको छ । यहाँको बासिन्दाको सधैँको दैनिकी पानीको खोजी गरेर हिँड्नु मात्रै भएको छ,’ उनले भने ।

जिल्लाको उच्च स्थानमा रहेको उक्त क्षेत्र सधैँभरी पानीको प्रतीक्षामा बस्ने गरेको छ । खानेपानीको उचित स्रोत नहुँदा र जनसंख्या बृद्धि भएसँगै खानेपानीको समस्या भएको स्थानीय नागरिक बताउँछन् ।

करिव १२ सय घरधुरी रहेको उक्त क्षेत्रमा अहिले १ दर्जन धारामा पानी आउने गरेको छ । विहान बेलुका खानेपानीको जोहो गर्नेमा दिन वित्ने गरेको स्थानीय पूर्णवहादुर दर्जी बताउँछन् । पिउने पानी नहुँदा पानीकै लागि २ घण्टा टाढा जानुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

खानेपानीको समस्या बढ्दै जान थालेपछि दैनिकी कष्टकर बन्दै गएको स्थानीयवासीले बताएका छन् । नजिकै पानीको श्रोत नभएपछि स्याङ्जाको डहरेलेकबाट पाईप मार्फत खानेपानीकोे आयोजना सञ्चालन गरिएको भएपनी गर्मीयाममा त्यहाँको स्रोत सुक्ने भएकाले समस्या बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।

साविक शंकरपोखरी गाविसको मुहान करिव १७ किलोमिटर टाढा छ । खानेपानीको समस्या भएपछि साविक शंकरपोखरी गाबिसका वार्ड नम्बर १ र ५ मा बर्षाको पानी संकलनका लागी फनवोर्ड नामक संस्थाले घैटो बनाइदिएको भएपनि खडेरीका घैँटा छिट्टै रित्ता बनिहाल्छन् । घैँटा रित्तिएसँगै लुगा धुन, नुहाउन र गाईभैँसीलाई खुवाउन उही सधैँको समस्या दोहोरिने गरेको छ ।

घैँटो रित्तिएपछि उनीहरु बर्षायाम कहिले लाग्ला भनेर कुरेर बस्ने गरेका छन् । ‘यस बर्ष पनि बर्खा लाग्यो खडेरी त खडेरी नै छ त्यही पनि थोरै बर्षा हुँदा पनि घैँटामा पानी जम्मा हुन्छ । पानीको पिरले सधैँभरी बर्खायाम भैदिए आनन्द हुन्थ्यो जस्तो लाग्छ,’ स्थानीय डल्ले परियारले भने, ‘यहाँका नेताहरुलाई चुनावमा भोट माग्ने आधार नै शंकरपोखरीको खानेपानी समस्या हो । चुनाव आउने बेला सबैले यो पटक पानीको समस्या समाधान हुन्छ भन्छन, म ७५ बर्षको भएँ । म जान्ने हुँदा पानीको समस्या जस्तो थियो अहिले पनि उस्तै छ, नेताले हारे पनि जिते पनि यहाँको समस्या फर्केर हेर्दैनन् ।’

डल्ले परियार जस्तै अन्य स्थानीय पनि यस्तै खालको आक्रोश पोख्छन् । जीवनभर काकाकुलको जस्तो अवस्था बन्दासमेत समस्याको समाधानमा कसैले चासो नदिएको उनीहरुको भनाइ छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.