www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका विप्लव कार्यकर्ता तनहुँमा पक्राउ

काठमाडौं।

 

 

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका कार्यकर्ता सन्तोष विक छन् ।

Batas

राजद्रोहको मुद्दामा गत असार ४ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका उनीहरुलाई अदालतले सोमबार फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

उनीहरु विरुद्ध स्याङ्जा जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण जिल्ला प्रहरी कार्यालय स्याङ्जाको पत्रअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पक्राउ परेका चारैलाई स्याङ्जा पठाइनेछ ।

गत असार ४ गते चारै जनालाई प्रहरीले पोखराको मुस्ताङचोकबाट पक्राउ गरी तनहुँ ल्याएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पोखराले उनीहरु सबैलाई रिहा गर्न असार ३ गते आदेश दिएको थियो । अदालतको आदेशमा रिहा भएका उनीहरु तनहुँ जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण पोखराबाट पक्राउ परेका थिए ।

त्यसअघि गत जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.