www.tandavnews.com
Fact ~ In search of truth

रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान : के गर्ने, कहाँ जाने ?

युवराज श्रेष्ठ
पोखरा,
ताण्डव न्यूज ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको स्मरणमा उनका आफन्त, साथी–संगी र नेकपाका नेता– कार्यकर्ताले ‘रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन गरे । प्रतिष्ठानको १८ जेठमा पोखरा सभा गृहमा भब्य समारोहका विच प्रधानमन्त्री केपी शर्मा ओली घोषणा गरे ।

१५ फागुन २०७५ मा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घनामा मन्त्री अधिकारीको निधन भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङको अध्यक्षतामा उनकै निवासमा बसेको आफन्त, नेता कार्यकर्ता लगायतको बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो ।

Batas

सोही अनुरुप अहिले ४५ सदस्यिय सल्लाहकार समिति र ३५ सदस्यिय कार्यकारीणी समिति गठन भइसकेको छ । समितिले अधिकारीको स्मृतिलाई चिस्थायी बनाउन के गर्ने ? भनेर छलफल थालेकोे छ ।

कार्यकारीणी समितिले काठमाडौँमा विद्यार्थी र प्राज्ञिक व्यक्तित्वहरुसँग सुझाव संकलन गरिसकेको छ भने सल्लाहकार समितिसँग पनि सुझाव लिँदैछ ।

काठमाडौँमा भएको छलफलमा प्राज्ञिक व्यक्तित्वले अधिकारीको स्मृतिमा अनुसन्धानमुलक काम गर्न र त्यसका लागि आफुहरुले योगदान गर्न चाहेको बताएका थिए । प्रतिष्ठानका महासचिव धनराज आचार्यले सुझाव संकलन पश्चात प्रतिष्ठानले के के काम गर्ने भन्ने बारे कार्ययोजना बनाउनेछ ।

शनिबार पोखरामा प्रतिष्ठानको पहिलो सल्लाहकार परिषदको बैठकमा सल्लाहकार सदस्यहरुले आ– आप्mना सुझाव पेश गरे । बैठकलाई संवोधन गर्दै प्रतिष्ठानका सल्लाहकार एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङले प्रतिष्ठानलाई प्रभावकारी बनाएर लैजानुपर्ने बताए ।

‘प्रतिष्ठानलाई पार्टीको जनसंगठनका रुपमा अघि बढाउनु हतारो हुन्छ, मुख्यमन्त्री गुरुङले भने, हामीसँग अरु साथीहरु पनि हुनुहुन्छ, विचार निर्माणका काम गर्नुपर्छ ।’

प्रतिष्ठान मार्फत युवालाई सीपमुलक तालिम दिन सक्ने उनको तर्क छ । पहिलो बर्ष धेरै काम गर्न खोज्दा केही नहुन सक्ने भन्दै उनले थोरै काम र ठोस काम गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।

‘राजनीतिक कार्यकर्ता कस्तो हुनुपर्छ ? कम्युनिष्ट कार्यकर्ता कस्तो हुने ? भनेर बहस चलाउन सकिन्छ, नेकपाका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले भने, आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा के गर्न सक्छौं ? भनेर अघि बढ्नुपर्छ ।’

प्रतिष्ठानको केन्द्रिय कार्यालय पोखरामा राख्ने र सम्पर्क कार्यालय काठमाडौंमा राख्नुपर्ने उनको सुझाव छ । प्रतिष्ठानले सदस्यता शुल्क, दान, सरकारी र प्रतिष्ठानको नितिमा मेल खाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थासँग मिलेर काम गर्नुपर्ने उनको भनाई छ ।

प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले भने फरक धारणा राखे । ‘माक्र्सवाद, लेनिनवाद भन्दा यता उता हुँदैन, उनले भने म रहँदिन ।’ प्रतिष्ठानको सदस्यता सबैलाई समान हुनुपर्ने भन्दै उनले आर्थिक आधारमा हुन नहुने बताए ।  भ्रष्टाचारमा संलग्न भएका, कर छलेका वा अपराधिक कार्यमा संलग्न भएकालाई प्रतिष्ठानको सदस्य बनाउन नहुने भन्दै उनले महिला, किसान र मजदुरलाई प्राथकिता दिनुपर्ने धारणा राखे ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सानो कामबाट प्रतिष्ठानले आप्mनो गतिविधि अघि बढाउनुपर्ने बताए ।  ‘यो पनि गर्नुपर्छ, त्यो पनि गर्नुपर्छ भन्ने अनि यो छुट्यो भन्नु भन्दा सानो कामबाटै प्रतिष्ठान अघि बढ्नुपर्छ ।’ उनले प्रतिष्ठानका लागि गण्डकी सरकारले यस बर्ष ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

नेकपाका नेता सोमनाथ प्यासीले वैचारिक क्षेत्रलाई समेट्नुपर्ने बताए । श्रम, शिक्षा, राजनीति, सामाजिक एवं साँस्कृतिक क्षेत्रलाई समेटेर प्रतिष्ठान अघि बढ्नुपर्ने उनको भनाई छ ।

सल्लाहकार सदस्य एवं प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले अधिकारीको संझनामा स्थायी संस्था बनाउनुपर्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले मुलुक समृद्धीको बाटोमा हिँडेकाले यसलाई प्रतिष्ठानले सघाउने बताइन् । ‘अधिकारीको सरल स्वभाव र शैली सबैका लागि मोडल थियो, उनले भनिन्, उनको समृद्ध नेपालको सपना पुरा गर्न प्रतिष्ठानले बाटो देखाउँछ ।’

रविन्द्र अधिकारीको सोच र दृष्टिकोण अनुसार नै प्रतिष्ठान अघि बढ्ने भन्दै अधिकारी पत्नी समेत रहेकी भट्टराईले भनिन्, ‘तीन पटकसम्म साँसद हुँदा र अहिले मन्त्री हुँदा उनले राखेका दृष्टिकोणलाई पछ्याएर नै हामी अघि बढ्छौं ।’

प्रतिष्ठानका कार्यकारी सदस्य रामकृष्ण ज्ञवालीले अधिकारीले पर्यटन विश्वविद्यालयको सपना देखेको भन्दै सोही मार्फत अधिकारीलाई चिरस्थायी बनाउन सकिने धारणा राखे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.