www.tandavnews.com
Fact ~ In search of truth

पुल निर्माणमा भएको भुल ! (भिडियो सहित)

सन्तोष अधिकारी
पोखरा , ताण्डव न्यूज ।

नेपालमा अहिले जसरी नै हरेक बर्खायाममा प्राकृतिक विपत्ति आइलाग्छ । अनि आर्थिक वर्षको अन्त्यकै छेको पारेर विकास निर्माणका हतारका काम सुरु हुन्छन् । ठुला ठुला योजनाहरु निर्माणका लागि पनि बर्खायाम नै कुरिन्छ । यि र यस्तै उदाहरण सहित ताण्डव न्यूजलेकास्कीका चार वटा पुलको बारेमा खोतल्ने प्रयास गरेको छ ।

नम्बर १ : मादी पूल

Batas

कास्कीको पर्यटकीय गाउँ ताङतिङ र याङजाकोटलाई सदरमुकामसँग जोड्ने मादी नदिमा पक्की पुल बनाउन चार बर्षअघि मृत सञ्जीवनी निर्माण सेवासँग तत्कालीन जिल्ला विकास समिति कास्कीबाट ठेक्का सम्झौता भएको थियो । २०७२ सालमा १५ महिनाभित्रै सक्ने गरि ठेक्का सम्झौता गरेर फरार भएका ठेकेदारले अझै पुल निर्माण सकेका छैनन् । उल्टै बर्खायाम लाग्ने बेलामा पुल निर्माणको काम सुरु गरेकोले गत असार ८ गते राती मादीको बाढीले निर्माणाधिन पुल नै बगाइदियो । झण्डै ८३ मिटर लामो हुने उक्त पुल आरसीसी स्ल्याबको हुने सम्झौता छ ।

काम नगर्नेलाई नै म्याद थप

ठेक्का सम्झौता गरेर लामो समय फरार मृत सञ्जीवनी निर्माण सेवाका मालिकलाई २०७५बैशाख २० गते सम्म पुल निर्माण सक्नु भनेर सडक डिभिजन कार्यालय मार्फत म्याद थप गरियो । पुल निर्माण गरेर हस्तान्तरण गर्ने बेलामा काम सुरु भयो तर, फर्माहरु हालेर ढलानको तयारी गर्दागर्दै बाढिले सबै बगाईदियो । ठेकेदारको लापरबाहि गर्दा उर्लेको मादीले निर्माणाधिन पुललाई छोडेन ।

ठेकेदारलाई मस्ती, स्थानीयलाई सास्ती

ठेक्का सम्झौता गरेर पेश्की समेत लिएर लामो समय फरार भएको र थपिएको म्याद गुज्रीने बेला आएका ठेकेदारको चाला देखेर मादी गाउँपालिका अध्यक्ष बेद बहादुर गुरुङ पनि आजित छन् । ‘यो पुल ढलान गर्न तयारी अबस्थामा थियो,’ उनले भने, ‘ठेकेदारको लापरबाहीले पुल बगायो । हिउँदभरी सुतेर बस्यो बर्खामा आएर बनाउन लागेपछि लग्यो । गाउँलेको गाली खाँदा खाँदा हैरान चाहीँ म भाछु ।’ पुल निर्माण नहुँदा स्थानीय तथा पर्यटकहरुले सास्ती खेप्नु परेको छ ।

ठेकेदारको चर्काे स्वर…

दुई पटक म्याद थप्दा समेत काम नसकेका ठेकेदार कम्पनीका दिवश उप्रेतीले बाढी आउला भन्ने कल्पनै नभएको र पुल बगाएको बताए ।उनले पुलको ५० प्रतिशत काम सम्पन्न भएको भनेको पुल गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार ३० प्रतिशत पनि मुस्कीलले भएको देखिन्छ । ‘यसरी बाढी आउला र पुल बगाउला भनेर त हामीले कल्पनै गरेका थिएनौँ,’ उनले भने, ‘बाढीले पुल लगिनै सक्यो अब त्यहाँ यति बेला केहि गर्न सकिँदैन । आउँदो हिउँदमा मात्रै काम सुरु गरिन्छ । खोलामा पानी पनि घट्न पर्याे ।’ स्वीस सरकारको सहयोगमा बन्न लागेको उक्त पुल निर्माण सम्पन्न भएपछि काउले–ज्याम्दु–ताङतिङ का जनतालाई सहज हुनेछ ।सम्झौता गरेकोमध्ये आधाभन्दा बढी रकम ठेकेदारले लगिसकेका छन् ।

नम्बर २ : विजयपूर खोला

पोखराको प्रवेशद्धारको रुपमा रहेको विजयपुर खोलाको पूल जिर्ण भएको छ । पुल जिर्ण भएपछि डाइभर्सन बनाएर १० टन भन्दा बढि तौलका सवारीलाई डाइभर्सनबाट आउजाउको बन्दोबस्त मिलाईयो । त्यहि बीचमा पूल मर्मत पनि गरियो । मर्मत गर्ने टोलीले प्रतिबेदन नबुझाउँदा पुलबाट सवारी आउजाउ गर्न गर्न मिल्ने नमिल्ने केहि भनिएको छैन ।

४० वर्षमा चार पुल ?

२०३८ सालको साउनमा भिषण ठूलो बर्षा भयो । बाढीले त्यहाँ भएको पुल नामनिसाना नराखी बगायो । त्यसपछि तत्कालीन सरकारको पहलमा बेलीब्रीज पुल बनाइयो । यो जिर्ण भएपनि मर्मत गर्न छोडेर नयाँ पुल बनाइयो । ०६५ सालमा बनाइएको नयाँ पुल पनि अहिले जिर्ण छ । अहिले फेरी नयाँ बेलीब्रीज तयार हुँदै छ । पटक पटक पुल बनेपनि ठेकेदारले गुणस्तरमा ध्यान नदिँदा पोखराले सास्ती खेपीरहेको छ । विजयपुर खोला तरेर दैनिक ६ हजार भन्दा धेरै सवारी आउजाउ गर्ने ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

नयाँ बेलीब्रीजको सिलान्यास गरेका मुख्यमन्त्री पृथ्वी सुब्बाले काम ढिलो भएपछि आफैँ निरिक्षणमा गएर काम समयमै सक्न दिर्नेशन नै दिनु प¥यो । अहिले धमाधम काम भइरहेको छ । त्यसको लागि इटालीबाट बेलीब्रीजको सामान ल्याएर फिटिङको काम भइरहेको छ । नयाँ बन्ने बेलीब्रीज दुई लेनको र १०० टन भारक्षमता भएको ५० मिटर लामो हुने बताइएको छ ।

सडक कार्यालयले बेलीब्रीज निर्माणको लागि गत बैशाख २२ गते सगरमाथा जेजे जोइन्ट भेन्चर कम्पनीलाई २ करोड २० लाखमा ठेक्का सम्झौता गरेको इन्जीनियर किरण सुबेदीले जानकारी दिए । अहिले बनिरहेको बेलीब्रीजमा पनि गुणस्तरिय काम भए नभएको कुनै पक्षले जाँच बुझ गरेको छैन ।

संघ सरकारको जिम्मामा छ वास्ता गर्दैन

विजयपुर खोलाको पुल मर्मत तथा निमाणको काम संघ सरकारको जिम्मामा छ । तर, संघ सरकारले वास्ता नगरेपछि गण्डकी सरकार आफैँले बेलीब्रीज हाल्न लाएको हो । ‘संघ सरकारले हो राजमार्ग हेर्नुपर्नेे हो,’ गण्डकी सरकारका प्रवत्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘पुल जिर्ण भयो, डाइभर्सन बनाइयो त्यो पनि बगायो सवारीको लाइन सडकभरी भयो संघ सरकारले देखेन । प्रदेश सरकार जनताको दुख हेरेर बस्न सकेन । काम अघि बढाउन भन्यौँ ।’ त्यसपछि २ करोड ५ लाखको लागतमा सडक डिभिजन कार्यालय पोखराले बेलिब्रिज निर्माण गर्न ठेक्का दिएको हो ।

नम्बर ३ : दोबील्लाको पुल

पोखरा महानगरको वडा नम्बर १७ र २१ जोड्ने पुल बनेको २०५४ सालमा हो । उक्त पुल प्राविधिक कुराहरु ध्यान नदिई बनेकोले बर्षेनी लाखौँ खर्चेर पुल जोगाउनुपर्ने स्थिती छ । सेतीको खोँचमा बनेको उक्त पुलमा कति भारबहन क्षमताका सवारी आउजाउ गर्ने केहि टुंगो छैन । दैनिक ठुला मालबाहक सवारीहरु हुइँकीरहन्छन् ।

‘पोहोर मात्रै हामीले पहरो नै फोरेर सिमेन्ट वालुवा गिटीको घोल हालेर केहि बलियो चाहीँ बनायौँ,’ वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्यले भने, ‘यो पुलको क्षमता कति, आयू कति, कस्ता सवारी आउजाउ गर्न दिने कुरा त सडक विभागको होला । प्राकृतिक रुपमा जोखिम भएको ठाउँलाई हामीले जसोतसो बलियो बनाएर चलाइरहेका छौँ ।’

पुल जोगाउन बनेको वाल नै कम्जोर

पुलको जोखिम कम गर्नको लागि वडा नम्बर १७ वारी पट्टिको भागमा रिटेनिङ वाल समेत लगाइएको छ । उक्त पुल निर्माण गर्दा ठेकेदार कम्पनीले पुलको दायाँ बायाँ लगाउनुपर्ने पक्की पर्खालहरु नलगाएकोले अहिले समस्या थपिएको हो । पुललाई जोगाउन बनाइएको वाल नै जोखिममा रहेको केहि प्राविधिकहरुले बताएका छन् ।

वडा कार्यालय मार्फत बनेको उक्त वाल प्राविधिक हिसाबले सहि नभएको उनीहरु बताउँछन । नदिको बहाबलाई थेग्न नसक्ने गरी बनेको वालले पुललाई झन धराप पारिरहेको छ । यता वडा अध्यक्ष आचार्य भने पुलमा कुनै प्रकारको धराप नभएको बताउँछन् । दोबील्लाको पुल हुँदै दैनिक सयौँ सवारीहरु आउजाउ गर्छन ।

नम्बर ४ : नारायणथानमा आर्कब्रीज

नेपालमा अहिले नयाँ प्रविधिक आर्क ब्रीजको परिक्षण भइरहेको छ । त्यस्तै स्टिल आर्कब्रीज पोखरा महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरी नारायणथान मन्दिरस्थित सेती नदीमा पक्की पुल निर्माण गरिएको छ ।

पुल होकी धराप ?

सडक विभागअन्तर्गतको केन्द्रीय पुल महाशाखाको ११ करोड २५ लाख लागतमा पुल निर्माण गरिएको यो पुल हेर्दा जति आर्कषक छ उत्तिकै प्राविधिक पाटोमा चुकेको छ । ‘हुन पुल महाशाखाकै इन्जीनियरहरुले हेरेर बनेको पुललाई हामीले के खोट लगाउनु,’ पोखरामा कार्यारत एक सरकारी इन्जिनिरयरले नै भने, ‘तर, यो पुल बनेर जति खुसी छाएको छ । यसले दुर्घटना पनि उत्तिकै गराउने वाला छ र दुखि हुने दिन निम्त्याउँदै छ । यो पुलका मुखमा प्रवेश गर्दा यताबाट आएको गाडीले उताबाट के आउँदै छ देख्दैन । पुलमा यस्तो कहिँ हुन्छ ? यस्तो भूल पुल निर्माण गर्दा गर्नै नहुने ।’

पृथ्वीराजमार्ग हुँदै गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने र बाहिरीने बैकल्पीक बाटोको रुपमा हेरिएको उक्त पुलले थप जोखिम निम्त्याएको उनी बताउँछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.