
कास्की ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७ मासवारस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलालको विचारको जगमा देश वर्तमान अवस्थासम्म आइपुगेको बताए ।
नेपाली कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्दै राष्ट्रकै नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले समाजवादोन्मुख हाम्रो देशलाई विकास र समृद्धिको मार्गमा लैजाने गहन जिम्मेवारीलाई वहन गर्नु वर्तमानको आवश्यकता रहेको औँल्याए ।नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली जनताले विश्वास गरेर वर्तमान अवस्थामा पु¥याएको बताउँदै मुख्यमन्त्री गुरुङले अब देश र जनतालाई योगदान दिन सकेमा नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गरे ।
पार्टीको गण्डकी प्रदेश इन्चार्जसमेत रहेका गुरुङले समाजवादमा आधारित भएर उत्पादनमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए। नेकपा कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले पुष्पलाल स्मृति उद्यानलाई व्यवस्थित बनाउन पार्टी कार्यकर्ता, जनप्रतिनिधि, समाजसेवी एवं सर्वसाधारणको महत्वपूर्ण सहयोग रहँदै आएको जानकारी दिए ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी (प्यासी), केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज राजकाजी गुरुङलगायत पार्टीका केन्द्र र जिल्लास्तरका नेता तथा कार्यकर्ताले पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.