www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि २५ लाख प्रदान

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले १५ लाख र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

ट्रष्टका कोषाध्यक्ष मदनलाल केडिया र युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा उक्त चेक हस्तान्तरण गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन कर्मचारीको सहयोग आवश्यक रहेको बताउँदै कर्मचारी सेवामुखी भए भने जनतामा सरकारप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले कर्मचारीले सरकारलाई सहयोग गरेन भनेर भ्रम छर्ने कामसमेत भइरहेको बताउँदै भने, “सरकारलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भनी केहीले सरकारले आधिकारिक ट्रेड युनियन बन्द गर्न खोजेको छ भनेर सरकार र कर्मचारीबीच भ्रम छर्ने काम गरिरहेका छन् । । उनले जबसम्म कर्मचारीतन्त्र प्रभावकारी, स्वच्छ र सेवाउन्मुख हुँदैन तबसम्म सरकार आफ्ना वाञ्छित उपलब्धि हासिल गर्न सक्दैन भने ।

सरकारले मन्त्रिपरिषद्बाट गर्ने निर्णय कार्यान्वयन कर्मचारीले नै गर्ने भएकाले कर्मचारी र सरकारबीच विश्वासको वातावरण बन्नुपर्ने उनले बताए । “कतिपयले माग राख्नुअघि नै आन्दोलन गर्न शुरु गर्छन्”, प्रधानमन्त्री ओलीले भने, “हामीले लोकतन्त्र ल्याइसक्यौँ ।

लोकतान्त्रिक प्रणाली बसालिसक्यौँ । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नुपर्दैन ।” प्रधानमन्त्री ओलीले अब आन्दोलन नभई सिर्जनशील भई देशका लागि योगदान गर्ने समय आएको बताए । उनले चुहावट र अनियमितता हटाउनका लागि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली लागू गरिएको पनि स्पष्ट गरे ।

यसअघि बारा र पर्सामा आएको हावाहुरीबाट पीडितलाई सहयोग गर्नका लागि ट्रष्टले प्रदेश नं २ का मुख्ममन्त्री लालबाबु राउतलाई ११ लाख प्रदान गरेको ट्रष्टका विमल केडियाले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop