
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पितृसत्ता विरुद्धको लडाईंमा प्रदेश सरकार साथमै रहको बताएका छन् । ‘महिला माथी हुने हिँसा र पितृसत्ताको विरुद्धको लडाईंमा हामी साथमै छौं, उनले भने, विभेदको अन्त्य गर्न र समानताका लागि परौं ।’
नारी जागरण अभियान पोखराले नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजलाई भड्किलो हुन नदिन बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । प्रदेश सरकारले समानता र विभेद अन्त्य गर्न चाहेको भन्दै त्यसका लागि सहकार्य र सुझाव दिन समेत आह्वान गरे ।

तीजलाई भड्किलो हुन नदिन आफ्नो ठाउँबाट सहयोग गर्ने समेत उनले बताए । ‘प्रदेश सरकारका मन्त्री र साँसदहरुलाई भोज भतेर र भड्किलो कार्यक्रम नजान आफुले आह्वान गर्ने भन्दै उनले भने, ‘विभेदको अन्त्य र समानताका लागि प्रवचन, विचार गोष्ठीमा जान सकिन्छ, तर भोज भतेरमा नजान म आह्वान गर्छु ।’
गलत कुराको पछि नलाग्न आग्रह गर्दै उनले निरपेक्ष ढँगले विषयलाई बुझ्न नहुने बताए । ‘कतिपय ठाउँमा पुरुषले नशालु पदार्थ प्रयोग गर्दा समानताका लागि महिलाले पनि गर्नुपर्छ भन्ने सुनेको छु, उनले भने, लोग्नेले बहुविवाह गर्यो भने महिलाले पनि बहुविवाह गर्नुपर्छ भन्न हुँदैन, कानुनले बन्देज लगाएको काम गर्नु समानता होइन ।’
उनले विभेदको अन्त्य र समानताको स्थापना एवं पितृसत्ता विरुद्धको लडाईंमा केन्द्रित हुन समेत आह्वान गरे ।
नारी जागरण अभियान पोखराका संयोजक अञ्जु केसीले मुख्यमन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाएकी थिइन् । अभियानका क्रममा टोलटोलमा पुगेर विकृति विरुद्ध जनचेतना फैलाउने योजना समेत रहेको उनले बताइन् ।
अभियानका क्रममा मंगलबार उनीहरुले जिल्ला प्रशासन कास्कीमा ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले आज मुख्यमन्त्री कार्यालयसँगै सामाजिक विकास मन्त्री नरदेवी पुन, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझाउन नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेल लगायत नारी जागरण अभियानका अभियन्ताहरुको सहभागिता थियो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.