www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध

बलेवा ।

केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ ।

जिल्ला सदरमुकाम र छिमेकी गाउँपालिका तथा नगरपालिका जोड्ने सडक पहिराले अवरुद्ध भएपछि बरेङमा सडक सम्पर्क टुटेको हो । बरेङदेखि धुल्लुबाँस्कोट छाप उर्लेनी सडक तीन दिनदेखि अवरुद्ध छ ।

उक्त गाउँपालिकाको कार्यालयदेखि गुल्मीको शान्तिपुर सडकखण्डको दाउन्ने, काल्चे र घट्टेमा पहिरो जाँदा बाटो अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताए । “गाउँपालिकाभित्रको भन्दा छिमेकी गाउँपालिकाको सडक खण्डमा पानीले अवरोध पुर्याएका कारण हाम्रो सडक सम्पर्क टुटेको हो”, उनले भने, “निरन्तर वर्षा भइरहेकाले तत्कालै सडक खुलाउन सम्भव छैन ।”

गुल्मीको सिमानामा पर्ने उक्त गाउँपालिकाले सदरमुकाममा हुने कामबाहेक गाउँपालिका बाहिर आवतजावतका लागि बरेङ–शान्तिपुर सडक प्रयोग गर्दै आएका थिए । सो सडक एक साता पहिलेदेखि नै अवरुद्ध छ । सडक बन्द हुँदा बरेङदेखि बुटवलका लागि छुटेका सवारी साधन बरेङमै रोकिएका छन् भने बुटवलदेखि बरेङका लागि आएका यात्रुबाहक तथा मालबाहक गाडी शान्तिपुरमै रोकिएको उपाध्यक्ष पुनले जानकारी दिए।

सडक अवरुद्ध भएका कारण बिरामीलाई अस्पताल पु¥याउन ठूलो समस्या भएको छ । “गाउँपालिकाका भित्री सडक त अवरुद्ध थिएन, सिङ्गो गाउँपालिका सडक सञ्जालभन्दा बाहिर भयो”, उनले भने, “हाम्रो अधिकारक्षेत्र भित्रको भए त पन्छाएर चलाउथ्यौँ, अन्य गाउँपालिकामा अवरोध रहेकाले समस्यामा परियो ।”

बरेङमा सबै कच्ची सडक मात्रै छन् । पक्की सडक नभएका कारण हिलाम्मे सडकमा सवारी साधान चलाउनसमेत जोखिम हुने गरेको सवारी चालक मानबहादुर थापाले बताए ।बरेङसँगै जिल्लाको ताराखोला, निसीखोला र तमानखोला गाउँपालिकाका स्थानीय सडक पनि पहिरोका कारण अवरुद्ध छन् । “गाउँपालिकाको केन्द्रमा आउने सडकमा समस्या छैन रोकिँदा बनाइहाल्छौँ”, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने, “स्थानीय सडक त अब दशैँका बेला मात्रै खुलाउने हो ।”

स्थानीय सडक बिस्तारका क्रममा बनेका नयाँ संरचनाले गोरेटो बाटोसमेत मासिएका छन् । गोरेटो बाटोसमेत नहुँदा पैदलयात्रीलाई सास्ती परेको छ । हिलाम्मे सडक र माासिएका गोरेटो बाटोका कारण पैदल हिँड्नसमेत कठिन भइरहेको स्थानीयवासीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.