www.tandavnews.com
Fact ~ In search of truth

कास्की अन्नपुर्णका स्थानीयले थाले सतुवाको व्यावसायिक खेती

पोखरा ।

जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ ।

नेपालका संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पुर्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा सामूहिक सतुवा खेती शुरु गरिएको हो ।

हिमालयन सतुवा एण्ड फार्मका रुपमा संस्थागत तवरले सात जना स्थानीयवासीको सक्रियतामा सतुवा खेती थालिएको पर्यटन व्यवसायी एवम् संस्थाका अध्यक्ष नजरमान गुरुङले जानकारी दिए । सतुवा समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा पाइने जडीबुटी हो । विशेषगरी एक हजार ६०० मिटरको उचाइ सतुवाका लागि अत्यन्त उपयुक्त मानिन्छ ।

गुरुङका अनुसार केही वर्षअघि सम्म छोम्रोङ आसपासका जङ्गलमा पर्याप्त मात्रामा सतुवा पाइन्थ्यो । पछिल्ला वर्षमा भने बढ्दो चोरी सिकारीको क्रमसँगै यो कताकति मात्रै पाइन थालेको छ । “छोम्रोङ आसपासका जङ्गलमा अहिले अत्यन्त कम मात्रामा सतुवा पाइन्छ”, उनले भने, “यसको व्यावसायिक खेतीका लागि हामीले ताप्लेजुङबाट पाँच हजार सतुवाको बीउ ल्याएर लगाएका हौँ ।”

पहिलो चरणमा सात जनाले जनही एक÷एक लाख रुपैयाँ उठाएर काम शुरु गरेको जानकारी दिँदै उनले १० रोपनी क्षेत्रफलमा सतुवा खेती गर्न लागिएको बताए । बिरुवा लगाउनाका साथै त्यसलाई अन्य जङ्गली जनावरले नखाऊन् भन्ने सोचका साथ वरपर तारबार लगाउनाका साथै जालीले घेरिएको उनले जानकारी दिए ।

सतुवाको बीउका लागि जिल्ला वन कार्यालय कास्कीले दुई लाख ९७ हजार उपलब्ध गराएको अध्यक्ष गुरुङले बताए । “सीमित साधन स्रोत एवम् कम लगानीमा राम्रो उत्पादन गर्न सकिने भएकाले अन्य सर्वसाधारणलाई यसतर्फ आकर्षित गर्नुसमेत हाम्रो उद्देश्य हो”, उनले थपे, “आसपासका जङ्गलमा पनि सतुवाको चोरी पैठारीलगायतका कारण कम हुँदै जान थालेको अवस्थालाई दृष्टिगत गरी यसको संरक्षणमा सचेतना अभिवृद्धि गर्न पनि व्यावसायिक खेती थालेका हौँ ।”

सरकारले सतुवालाई संरक्षित जडीबुटीको सूचीमा राखेको छ । सतुवा बहुउपयोगी औषधीय वनस्पति भएको र यसले विभिन्न प्रकारका रोगसमेत निको पार्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको उच्च माग रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।

अन्नपूर्ण गाउँपालिका जडीबुटीको भण्डार भएको बताउँदै उनले यसको संरक्षणका साथै व्यावसायिक उत्पादन गाउँपालिकाको प्राथमिकतामा रहेको बताए । “स्थानीयवासीमा व्यावसायिक खेतीतर्फ देखिएको आकर्षणले हामीलाई पनि उत्साहित बनाएको छ”, अध्यक्ष कुँवरले भने, “अन्नपूर्ण जडीबुटीको भण्डार हो, यहाँ सतुवाजस्ता अनेकौँ बहुमूल्य जडीबुटी छन्, यसको संरक्षण र उपयोगबाट स्थानीयवासीको आयआर्जन बढाउने हाम्रो दीर्घकालीन लक्ष्य छ ।”

बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ । यसकोे मूल्य प्रतिकिलो आठ हजार रुपैयाँ पर्छ । सतुवाका भाले र पोथी दुई जात हुन्छन् । भालेको भने प्रतिकिलो १७/१८ हजार रुपैयाँ बजार मूल्य रहेको फार्मका अध्यक्ष अध्यक्ष गुरुङले जानकारी दिए ।

सतुवाको जरा अदुवाको जस्तै हुन्छ । यसको सेवन विशेषगरी श्वासप्रश्वासजन्य समस्यामा उपयोगी हुने कास्की जिल्ला आयुर्वेदिक सङ्घका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार घाँटी तथा पेटका समस्याका साथै यसको सेवनले रोग प्रतिरोधक क्षमतासमेत बढाउँछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.