
काठमाडौं ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजले आज आयोजना गरेको ‘केसिसी एक्जिबिट २०१९’ को उद्घाटन कार्यक्रममा उनले देश विकासमा युवाको भूमिकामा जोड दिए ।
मन्त्री सुनारले युवालाई विज्ञान–प्रविधिसँग जोड्दै जानुपर्ने बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले चाँडो उपयोग गर्नुपर्नेमा उनको जोड थियो । नेपालमा दक्ष र प्राविधिक जनशक्तिको उत्पादन बढाउँदै जानुपर्ने उनले बताए । युवालाई स्वदेशमा नै परिचालन गर्नुपर्ने उनले बताए । उनले भने, “हिजो देशभित्र श्रमको सम्मान नभएकामा अहिले हामी त्यो बदल्न लाग्नुपर्छ ।”
राष्ट्रिय सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको महत्वपूर्ण भूमिका हुने मन्त्री सुनारले बताए । यस्ता कार्यक्रमहरुले नै युवालाई अघि बढाउने उनले उल्लेख गरे । उनले भने, “युवाहरुलाई खाडी देशमा होइन यहीँ अनुसन्धान र स्वरोजगारीमा लगाउनुपर्छ ।”
नेपाल सरकारको सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना–प्रविधिलाई सजिलोका लागि मात्र नभई दिगोपनका लागिसमेत प्रयोग गर्नुपर्ने बताए ।प्राध्यापक रामकृष्ण रेग्मीले दिगो विकास लक्ष्यतर्फ अघि बढ्न यस्ता प्रदर्शनीले सहयोग गर्ने उल्लेख गरे । नेपाल इञ्जिनीयरिङ काउन्सिलका अध्यक्ष ई. डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताए ।
कार्यक्रममा पूर्वमन्त्री गणेश साहले दिगो विकासका लक्ष्यलाई सम्बोधन गर्न नयाँपन चाहिने बताए । कलेजका अध्यक्ष सुमन कटवालले कलेजले बर्सेनी यस्ता प्रदर्शनी गर्दै आएको बताए।प्रदर्शनीमा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इञ्जिनीयरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुई वटा खेलकूदका स्टल, चार खाजा स्टल रहेको छ । कार्यक्रम शनिबारसम्म चल्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा दुई दिनमा २५ हजार अवलोकन कर्ताको अपेक्षा गरिएको छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.