www.tandavnews.com
Fact ~ In search of truth

कास्की लान्द्रुककी सुत्केरी निषाकुमारी थापाको अत्यधिक रक्तश्रावबाट मृत्यु

कास्की ।

अत्यधिक रक्तश्रावका कारणले पोखरामा एक सुत्केरीको मृत्यु भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा दोस्रो सन्तान छोरा जन्माएकामा उनको आज बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताएका छन् ।

मृतकका आफन्तले भने डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले दोषी चिकित्सकले सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग गरेका छन् । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

मृतकका भाइ वसन्त थापामगरले सुत्केरी ब्यथा लागेपछि बिहीबार बिहान ८ बजे अस्पताल भर्ना गरिएको र बेलुका बच्चाको जन्म भएपछि लामो समय रक्तश्राव नरोकिएको बताए । रक्तश्राव भएकाबारे पटकपटक चिकित्सकलाई जानकारी गराउँदा केही समयपछि ठीक हुने बताएर यसलाई गम्भीररुपमा नलिँदा सुत्केरीको ज्यान गएको उनको भनाइ छ ।

रक्तश्राव रोकथामका लागि प्रयास नगरेको र ढिलो गरी चार पोका रगत माग गरेको तथा पाठेघरको शल्यक्रियाका कारणले गर्दा नै सुत्केरीको ज्यान गएको आफन्तको आरोप छ । अस्पताल स्रोतले भने रक्तश्राव रोकथामका लागि हरसम्भव प्रयास गर्दा पनि सफल नभएपछि अन्तिम विकल्पका रुपमा पाठेघरको शल्यक्रिया गरिएको बताएको छ । अहिले अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.