www.tandavnews.com
Fact ~ In search of truth

बाजुरामा ७३४ मुक्तहलिया पुनःस्थापना

बाजुरा ।

बाजुरामा विभिन्न स्थानीय तहमा रहेका साहुको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएका ७३४ मुक्तहलिया परिवारको पुनःस्थापना गरिएको छ ।

जिल्ला मुक्तहलिया कार्यक्रमअनुसार परिचयपत्र प्राप्त सबै मुक्तहलिया परिवारको पुनःस्थापना कार्य सम्पन्न भएको छ । जिल्लाभर एक हजार ६३३ मुक्तहलिया परिवारको पहिचान भई प्रमाणीकरण भइसकेको छ । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेका अनुसार १४० परिवार सम्पर्कमा आएका छैनन् । पुनःस्थापना हुन ३० परिवार बाँकी रहेको उनले बताए।

पुनःस्थापना कार्यक्रमअन्तर्गत १४ करोड ३२ लाख ७५ हजार खर्च भएको छ । पुनःस्थापना कार्य आर्थिक वर्ष २०६९/७० देखि शुरु भएको हो । जिल्लाबाट मुक्तहलिया परिवारको लगत सङ्कलन गरी पठाएपछि सरकारले प्रमाणित गरी एक हजार ६३३ परिवारका लागि विभिन्न समयमा कार्यक्रम लागू गरिएको थियो ।

सरकारद्वारा प्रमाणितमध्ये १४० परिवार सम्पर्कमा नआएकाले उनीहरूको नाम लगत सूचीबाटै हटाइएको छ । बाँकी सबैको पुनःस्थापना भइसकेको प्रमुख जिल्ला अधिकारी न्यौपाने बताउछन् ।

विसं २०६५ भदौमा हलियालाई मुक्त घोषणा गरिएको हो । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका १२ जिल्लामा मुक्तहलिया पुनःस्थापन कार्यक्रम सञ्चालनमा छ । नाम लगतकट्टा हुनेमा हालसम्म पटकपटक सूचना जारी गर्दासमेत सम्पर्कमा नआएका, दोहोरो नामावली भएका, जनता आवास कार्यक्रमबाट अनुदान पाएका रहेको मालपोत कार्यालयका कार्यालय प्रमुख लक्ष्मण पन्तले बताए ।

सरकारकै जनता आवास कार्यक्रमबाट अनुदान पाएर पुनःस्थापन लगतबाट नामावली कट्टा भएकाले पुनःस्थापन सुविधा नपाउने भए पनि आगामी दिनमा सरकारले मुक्तहलिया लक्षित कार्यक्रमबाट भने लाभ लिनसक्ने छन् । मुक्तहलिया कार्यक्रमबाट लाभ लिएकामध्ये ७९ परिवारले जग्गा खरीद, २२८ परिवारले घर निर्माण तथा ४२७ परिवारको घर मर्मत गरिएको छ ।

तीमध्ये मालपोत कार्यालयबाट सो कार्यक्रमअन्तर्गत रकम लिएका ९८ परिवारलाई स्थानीय तहमा हस्तान्तरण गरिएको छ । स्थानीय तहबाट नै मुक्तहलिया परिचयपत्र र रकम दिने व्यवस्था गर्ने परिपत्र मन्त्रालयले गरेको मुक्तहलिया पुनःस्थापना कार्यक्रम संयोजक एवम प्रमुख जिल्ला अधिकारी न्यौपनेले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.