www.tandavnews.com
Fact ~ In search of truth

बालक पनि हुन्छन् यौन दुर्व्यवहारको शिकार

बाल यौन दुराचारको मुद्धामा गत जेठमा क्यानेडियन नागरिक पिटर डाल्गिसलाई अदालतले ९ वर्षको जेल सजाय सुनायो । यदि उनी कुनै सामान्य विदेशी नागरिक मात्र भएको भएयस विषयले उतिसारो चर्चा पाउदैनथ्यो । उनी नाम नेपालमा मात्र नभएर ससांरभर मानवअधिकारकर्मीको रुपमा परिचित थिए ।

कुनै समय उनी यू एनसँग पनि बाल अधिकारकै वकालतकर्ता कै रुपमा कार्यरत थिए । उनलाई गतवर्ष आफ्नै घरमा २ बालक सहित पक्राउ गरिएको थियो । बालकहरुलाई यौनशोषण गरेको आरोप उनलाई लाग्यो । महिनौको अनुसन्धानबाट बल्ल आएर यस घटनाको पृष्टि भयो र उनी जेल परे । पेडोफाइलहरुका लागि नेपाल सुरक्षित र आकर्षक भूमि हो । यस घटनाले त झन् बाल यौन दुराचारीहरु जुनसुकै भेष पनि हुन सक्छन् भनि देखाउँछ ।

नेपालमा बालकहरु विशेष गरेर पेडोफाइलको सिकार बन्न पुगेका छन् । पेडोफाईल अर्थात् बालयौन दुराचारी, जसको लत भनेको आफनो उमेरभन्दा ससाना बालबालिकाहरुलाई यौन सन्तुष्टिका लागि प्रयोग गर्नु हो । पेडोफाइल महिला र पुरुष दुवै हुन्छन्् । तर नेपालमा पुरुष पेडोफाइलका घटनाहरु बढी बाहिर आएका छन् । त्यसमा पनि विदेशीहरु अझ वृद्ध अवस्थामा पुगेकाहरु नेपालमा आएर बालकहरुमाथि यौन शोषण गर्दछन् ।

Batas

पेडोफाइलहरुले नेपाललाई आफना लागि स्वर्ग भन्ने गरेका छन् । कानुन पनि नलाग्ने र कसैले थाहा पनि नपाउने । विशेष गरेर गोरो छाला देख्ने बित्तिकै राम्रै हुन्छन् भन्ने सोच, विदेशीसँग आफ्ना छोराछोरी पठाउँदा अथवा हिँड्दा भविष्य उज्जवल हुन्छ भन्ने धारणाले अभिभावकले कुनै संकोच मान्दैनन् । बालबालिकालाई फकाई फुल्याई गरेर विभिन्न प्रलोभनमा पारि आफनो यौन सन्तुष्टि पूरा गर्दछन्। उनीहरुका नजरमा आर्थिक अवस्था कमजोर भएकाहरु पहिलो निशाना पर्छन् ।

यौन दुर्व्यवहार यो उमेरकोले, यो रंग भएकोले, यो पेशा अपनाएकोले, यो लिंग भएकोले गर्दछन्, भन्ने हुँदैन । बालकदेखि वृद्धासम्म जसले पनि बालबालिकालाई यौन दुव्र्यवहार गर्न सक्छन् । गोरादेखि काला रंग भएकासम्म, शिक्षकदेखि ड्राइभरसम्म र पुरुषदेखि महिलासम्मले पनि यौन दुव्र्यवहार गर्न सक्दछन् ।

आफनै उमेर समूहका साथी (पीयर) वीच पनि भएका दुव्र्यवहारका घटनाहरु थुप्रैछन् । बालिकामाथि हुने यौन दुव्र्यवहार घटना बढी बाहिर आएतापनि बालक पनि यसमा उत्तिकै जोखिममा हुन्छन् । बालक पनि यौन दुव्र्यवहारको सिकार हुन सक्छन् ।

कक्षा एकमा पढ्दा घटेको एउटा घटना बाहेक मसँग त्यसबेलाका अरु कुनै घटना याद छैन ।

कक्षा एकमा पढाउने शिक्षिका हुनुहुनुथ्यो, जसलाई सम्झदा उनले लगाएको कालो अम्ब्रेला कुर्था, हातको लामो नङ र एउटा लाम्चो अनुहारमात्र सम्झन्छु ।

सायद हामी अन्तिम परीक्षाको तयारीमा थियौ । कक्षामा शिक्षिकाले कुनै प्रश्नको उत्तर नजान्दा सबलाई कुटथिन्, कुखुरा बनाइदिन्थिन्, त्यसदिन उनले प्रश्न सोध्दै गइन् । म लगायत दुई तीनजना साथीले मिलाएको याद छ । नमिलाउनेहरुलाई उनले पालैपालो अगाडि बोलाइन् । उनले सबैलाई पालैपालो टाई, बेल्ट फुकाल्न लगाईन्, त्यसपछि सर्ट अनि पाईन्ट र स्कर्ट पनि ।

साथीहरु शिक्षिकाले पिट्छिन् कि भन्ने डरले जे जे भन्छिन् त्यो मान्दै गए । त्यसपछि भित्रि कपडा पनि उनले फुकाल्न लगाइन् । हामी लाजले आँखा बन्द ग¥यौ तर शिक्षिकाले हामीलार्ई हेर्नलाई निर्देशन दिइन् । केटा र केटी सबै साथीहरुलाई अगाडि नांगो शरीर बनाएर उभाइएको थियो । साथीहरु नांगो शरीर लिएर अगाडि, हामी तीन, चारजना साथी बेन्चमा, मेडम अगाडिको कुर्चीमा बसिन् ।

उनले अगाडि फर्कि र पछाडि फर्किको निर्देशन दिएको आवाज मेरो कानमा अझै गुन्जिन्छन् ।

अहिले यतिका वर्षपछि यो घटना सम्झिँदा ती शिक्षिकाप्रति रिस उठ्छ । त्यो एउटा प्रश्नको उत्तर नजान्दाको सजाय थियो । त्यस्तो किसिमको सजाय दिनुमा शिक्षिकाको आफनो भित्रि ईच्छा थियो भन्ने कुरा अहिले बुझेकी छु । उनले त्यो सजाय दिएकी थिइनन् अवोध बालबालिकालाई आफनो मनोरञ्जनको साधन बनाएकी थिइन् ।

त्यो एउटा शिक्षिकाले गरेको यौन शोषण र दुव्र्यवहारको घटना थियो । उनले आफूले गरेको अपराध कति सम्झिन्छिन् तर उनको विद्यार्थीले भने जीवनभर नै सम्झिनेछन् । यौन शोषण एक शिक्षकले होइन, शिक्षिकाले गरेकी थिइन् ।

नेपालको संविधानको धारा २९ को शोषण विरुद्धको हकमा धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन भनिएको छ ।

मुलुकी ऐनले पनि कुनै व्यक्तिले कुनै किसिमका अप्राकृतिक यौन क्रियाकलाप गरेको खण्डमा त्यसलाई बलात्कार जत्तिकै जघन्य अपराध मानि ९ देखि १३ वर्षसम्मको जेल सजाय हुने भनेको छ ।

कानुन त हाम्रा बलिया छन् तर कार्यान्वयनको पाटो फितलो छ । यौनशिक्षाका बारेमा हाम्रा पाठ्यक्रमहरुमा अलि बढी महत्वका साथ पढाइने हो भने यस्ता घटनाहरुप्रति बालबालिकाहरु पहिले नै सचेत हुने मौका पाउने थिए । यस्ता घटना हुने संकेत कस्तो हुन्छ, त्यसबाट कसरी बच्ने भन्ने विषयका बारेमा पढाउनु आवश्यक छ ।

यसका लागि शिक्षक, शिक्षिका र अभिभावकहरुको महत्वपूर्ण भुमिका हुन्छ । बाल दुव्र्यवहारका बारेमा शिक्षकशिक्षिका आफैले बुझेर निर्धक्क भई, विद्यार्थीलाई पनि यसबारे बुझ्ने र सिक्ने वातावरण बनाउन जरुरी छ । अहिले प्रयासहरु भएका छन् तर पर्याप्त भने छैन ।

कक्षा ८ मा पढ्ने एक बहिनीलाई प्रजनन स्वास्थ्य शिक्षाको बारेमा सोध्दा उनले भनिन्, ‘सरले त्यो च्याप्टर पछि पढाउला भनेर राख्नुभयो पछि त एक्जाम आयो, अनि पढाउनु नै भएन ।’ स्वास्थ्य शिक्षा पढाउने मेरो कक्षा शिक्षकले ‘हस्तमैथुन’ को बारेमा पढाउनुपर्ने थियो, सरले हामीलाई कक्षामा भन्नुभयो, ‘यो त केटीहरुलाई बाहिर पठाएर, केटाहरुलाई मात्र पढाउनुपर्ने रहेछ’ केटाहरु गलल्ल हासेँ, हामी केटीहरु भने आधा नबुझेर र आधा सरले त्यस्तो भनेकै कारण लजाएर बस्यौ ।

त्यतिबेला उठेर हामीलाई नि पढाउनुस् न सर, हामी पनि बुझ्न चाहान्छौ भन्ने हिम्मत कसैमा पनि आएन । र सरले त्यस च्याप्टरलाई नै स्कीप गर्दिनुभयो । यस्तो विषयको ज्ञान नहुँदा नै हामी चुकिरहेका हुन्छौ । हाम्रा बालबालिकाहरु यौनप्रतिको जिज्ञासाले पछि गएर नराम्रा घटनाहरु घट्न पुग्छन् । त्यसका लागि बेलामा नै यसप्रति ध्यान दिनु जरुरी छ ।

हाम्रो समाज यौनलाई एउटा ट्याब्बोको रुपमा हेर्दछ । जसले गर्दा हाम्रा बालबालिका यौनशिक्षाका बारेमा गहिरिएर बुझ्न पाउदैनन् । र त्यसपछि घट्ने यौन दुव्र्यवहार घटना बाहिर निस्किदैनन् । किनभने हाम्रो समाजले सानैदेखि हामीलाई चुपी लगाउन सिकाउँछ ।

बालिकाहरुमा घटेको घटना त आएका छन् तर बालकहरुलाई भएको दुव्र्यवहारका घटना बाहिर आउँदैनन् । बालबालिकाहरु संवेदनशील हुन्छन् । र दुवै बालक र बालिका समान रुपले असुरक्षित हुन्छन् ।

बालिका भन्दा बालक सुरक्षित हुन्छन् भन्ने हाम्रो समाजमा गलत विश्वास रहेको छ । बालिका दुव्र्यवहारमा पर्न सक्छिन् भने बालक पनि दुव्र्यवहारमा पर्न सक्छन् ।

[email protected]

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.