www.tandavnews.com
Fact ~ In search of truth

महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्नेमा जोड

कास्की ।

गण्डकी प्रदेशका महिला उद्यमीले महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्ने आवश्यकता माथि जोड दिएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास उपसमितिले आयोजना गरेको गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत् भेलामा सहभागी महिला उद्यमीले व्यवसाय विस्तार र नयाँ सम्भावना खोजीका विषयमा केन्द्रित विषय विज्ञ बीचको छलफलमा उनीहरुले सो कुरा बताएका हुन् ।

भेलामा औद्योगिक व्यवसाय ऐन, सामाजिक सुरक्षा कोष तथा कर शिक्षाबारे विभिन्न व्यक्तित्वहरुले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले मुलुकको नीतिनिर्माण तहमा महिलाको सक्रिय सहभागीता हुनुपर्ने बताउँदै कानूनले दिएका अधिकारहरु प्रयोग गरी महिलाहरुले उद्योग÷व्यवसाय स्थापना र सञ्चालनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

सरकारले घोषणा गरेका अनुदान र सहुलियतहरु वास्तविक महिला उद्यमीसम्म पुग्न नसकेको, घरभाडा घरधनीले नै तिर्नुपर्ने अवस्था बन्न नसकेको, ग्रामीण इलाकाका महिलाहरुलाई प्यान नम्बर लिन कठिनाइ भएको, लघु र घरेलु महिला उद्योगीलाई राज्यले आवश्यक सहयोग नदिएको, महिलाबाट उत्पादित सामानहरुको बजारीकरणमा सहयोग नपाइएको, उद्योग गर्छुभन्दा ठाउँ नपाइएको, वातावरणीय मूल्याङ्कन लगायतका प्रक्रियाहरु झन्झटिलो भएको गुनासो सहभागी महिला उद्यमीहरुको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास उपसमितिका संयोजक कुमारी मुना बाँस्तोलाले राज्यले दिएको सुविधाबारे महिला उद्यमीहरु जानकार हुनुपर्ने बताए ।

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमु्ख कर अधिकृत केशवकुमार उप्रेतीले महिलाहरुले नै सञ्चालन गरेको लघुउद्योगलाई अरूभन्दा दुई वर्षभन्दा बढी राजश्व छुट दिइएको जानकारी दिए ।

महिलाहरुलाई तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न उनको आग्रह थियो । कर तिर्नु सचेत नागरिकको दायित्व भएको बताउँदै उहाँले कर नतिर्ने तर राज्यलाई गाली गर्ने अधिकार कसैसँग नभएको धारणा राखे।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उद्योग महाशाखा प्रमुख नारायण आचार्यले उद्योग स्थापनाभन्दा पहिला नै वातावरणीय मूल्याङ्कन गर्न, उद्योग खोल्दा तुलनात्मक लाभका सम्भावनाबारे अध्ययन गर्न, सरकारले दिएका अनुदान र छुटहरुबारे जानकार हुन आग्रह गरे ।

सामाजिक विकास मन्त्रालय गण्डकीका उपसचिव भीमप्रसाद तिवारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालालगायतले महिला उद्यमशीलताको विकासमा सहजीकरण गर्न तयार रहेको बताए ।

सङ्घका महासचिव अर्जुन पोखरेलले नेपालमा महिला उद्यमशीलताको इतिहास पुरानो रहेको चर्चा गर्दै हिजो पर्दा पछाडि बस्ने महिलाहरु अहिले अगाडि आएर व्यवसाय गर्दा त्यसले समग्र राष्ट्रको अर्थतन्त्रमा सकारात्मक परिणाम दिएको धारणा राखे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.