www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

चितवन ।

चितवन जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डित रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका–३ लायन्सचोकबाट पक्राउ गरेको हो । लागुऔषध खैरो हेरोइनसहित दुई साताअगाडि पक्राउ परेका भरतपुर महानगरपालिका–४ बस्ने सन्तोष सिकारीको मुद्दा मिलाई छुटाइदिन्छु भनी उनकी श्रीमतीसँग करीब आठ लाख लिएका थिए । पक्राउ परेका दुवैलाई सोमबार ठगी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

फरार दुई अभियुक्त पक्राउ

चितवन प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । चितवन रत्ननगर नगरपालिका–६ सौराहास्थित रेन फरेष्ट होटलमा कोठा बुक गरी बसेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ३९ की गीता गुरूङ र वर्ष १७ का पर्वत गुरूङलाई पक्राउ गरेको हो । काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ४९ का छन्दबहादुर थापालाई उनीहरुले सोही होटलको स्वीमिङपुलमा हत्या गरेको मृतक परिवारको जाहेरी परेको थियो ।

शनिबार उनीहरुले मृतक थापालाई स्वीमिङ पुलमा अचेत अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा लैजाँदा मृत्यु भएको बताउँदै सोही होटलमा बस्दै आएका थिए । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिए ।

चोरी गर्ने पक्राउ

रातको समयमा भरतपुर क्षेत्रमा चोरी गर्दै हिँड्ने एक पक्राउ परेका छन् । धादिङ जिल्ला चैनपुर गाउँपालिका–७ स्थायी घर भई हाल जिल्ला नवलपरासी गैँडाकोट बस्ने वर्ष २३ का बुबेश वागदास र जिल्ला प्यूठान झिमरूक गाउँपालिका–२ घर भई जिल्ला गैँडाकोट बस्ने वर्ष २३ का विजय केसीलाई प्रहरीले पक्राउ हो । उनीहरुको साथबाट एक थान सलाई रेन्च, पेचकस ताल्चा थान र साइकलको स्ट्याण्ड डण्डीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.