www.tandavnews.com
Fact ~ In search of truth

फूल घटाऔँ, फल बढाऔँ

उमा वि.क
पोखरा, ताणडव न्यूज । 

बिहान तरकारी पकायो, बेलुका के पकाउने भन्ने पिर छ हामीलाई, तरकारीको भाउ बढ्यो पिर, विषादीयुक्त तरकारी भित्रियो रे त्यसमा पनि पिर ।कौसी खेती गरौँ न केही हदसम्म पिर कम हुन्छ कि !

पोखरा –८ शिवालयमार्ग कि सरस्वती थापालाई के तरकारी पकाउने भन्ने पिर होइन, बिहानकुन तरकारी पकाउने, बेलुकी कुन र भोली कुन तरकारी टिपेर पकाउ भन्ने सेड्युल मिलाउने पिर हुन्छ ।

Batas

घरको छतमा लटरम्म फलेको गोलभेंडा, खुर्सानी, सिमी, बोडी, चिप्लेभेन्टी, भेन्टा, साग, कर्कलो, तिते करेला लगायतका तरकारी मेसो मिलाएर पकाउन सरस्वतीलाई सेड्युल नै बनाउनुपर्छ ।

सरस्वतीको छतमा फूल भन्दा धेरै तरकारी छन् । हेर्दा फूल भन्दा कम देखिदैन छतको तरकारीको सुन्दरता ।२०६२ सालबाट कौसी खेती सुरु गरेकी सरस्वतीले झण्डै १४ वर्षदेखि बजारबाट तरकारी किनेर खानुपरेको छैन। सिजन अनुसार आफ्नै छतमा उनले तरकारी फलाउँछिन् । टुसा, फर्सीको मुन्टा, आलु, प्याज मात्र किनेर खान्छिन् उनी ।

उनले घरको प्रयोजनको लागि यो खेती सुरु गरेकी हुन् । अहिले फलेका तरकारी घरकैले मात्र नभई उनले इष्टमित्र र छरछिमेकीलाई पनि बाड्ने गर्छिन् ।गतवर्ष उनको छतमा काउली यति सप्रियो कि एउटा गमलामा दुई दुई केजीको काउली फल्यो उनले ९ केजी काउली जोखेरै बाडिन् ।

बाहना होइन,चाहना चाहिन्छ

कौसी खेती गर्नका लागि चाह भए तरकारी किन्नुपर्ने बाध्यता हटेर जान्छ । कौसी खेती महँगो छैन ।

घरमा फालिएका, बिग्रे भत्केका सरसामानमा, भाडाकुँडामा पनि यो खेती गर्न सकिन्छ । सरस्वतीको छतमा पुराना बाटा, माछाका खेर जाने कार्टुन, टुक्रा पारिएका पाइप, बिग्रेका राइसकुकर र बोरामा तरकारी फलिरहेका छन् । उनी भन्छिन्, ‘खेती गर्न बाहिरबाटै सरसामान किनेरै ल्याउनुपर्छ भन्ने छैन, घरकै बिग्रे भत्केका सामानलाई प्रयोग गर्न सकिन्छ ।’

सरस्वतीले फालिएका चिजहरुलाई पुनः प्रयोग गरिरहेकी छिन्। विरुवा आफै जमाउँछिन् । गाउँगाउँबाट बेर्नाहरु मगाएर धेरै हुनेहरुसँग सेयरिङ्ग गरेर खेती गरिरहेकी छिन् । १४ वर्ष देखि उनले कौसी खेती गर्नका लागि कुनै पनि बेला आफ्नो हात विसाएकी छैनन् ।

यो खेती गर्न गाह्रो छैन तर अल्छी गरेर गाह्रो मान्छौ भने गाह्रै हुन्छ । ‘म बिहान उठेपछि पहिला यही खेतीको स्याहार ,गोडमेल गर्छु, राती खाना खाएपछि पनि म छतमा आएर बिरुवा लगाउने, सुकेका पात निकाल्ने, पानी राख्ने गर्छु, यसैमा म रमाउँछु,’ सरस्वती सुनाउँछिन् ।

कौसी खेतीले उनको घरको फोहोर पनि व्यवस्थित भएको छ । घरको मात्र होइन उनले छरछिमेकी, वरपरका होटलका फोहोर पनि घरमा ल्याएर रिसाइकल गरि मल बनाउँछिन् । यसले पनि टोलकै फोहोर व्यवस्थापनमा मद्दत पुगेको छ ।सरस्वतीले तरकारीसँगै अहिले लहरे आँप, अम्बा, कागती रोपेकीछिन् ।

न विषादीको डर, न महंगीको मार

अहिले विषादीयुक्त तरकारी भित्रिएको भन्दै सबै चिन्तित छौ । कौसी खेती गर्ने हो भने हामी विषादी र महंगीको मारबाट बच्छौँ ।

‘सानो परिवारको लागि कौसी खेती केही पर्याप्त छ,’सरस्वती भन्छिन्, ‘हामीले नाकाबन्दी झेल्यौँ, बाढीपहिरोले गर्दा तरकारीहरु नआएको अवस्था पनि छ ।अहिले विषादीप्रकरण हामीले झेलिरहेका छौँ । मलाई कहिल्यै चिन्ता भएन आज म के पकाऔँ, तरकारीको भाउ बढेछ भनेर ।’

कौसी खेतीका कारण खर्च पनि कटौती गर्न सकिने, विषादीमुक्त तरकारी खान पाइने र शारीरिक अभ्यास पनि हुने उनी बताउँछिन् ।

सन्देशका लागि कौसी खेती

सरस्वती पेशाले नर्स हुन् । तर उनले नर्सिङसँगसँगै घरको छतमा कौसी खेती गर्दै आएकी छिन् । कौसी खेतीका लागि पनि समय चाहिन्छ उनले व्यर्थमा नेट इन्टरनेटमा झुण्डिने समय कौसी खेतीमा खर्च गर्छिन् ।

परिवार पढेलेखेको इन्ट्ल्याक्चुअल भएपनि किसान ब्याकग्राउण्डमा हुर्केकी सरस्वतीले गाउँमा छँदा अर्गानिक तरकारी खाएको बानी, बजारमा हरेक चिज किन्नुपर्ने, त्यसमा पनि विषादीयुक्त तरकारी खानुपर्ने कुराले दिक्क थिइन् ।

उनलाई फ्रेस अर्गानिक तरकारी खानुपर्छ भन्ने थियो त्यसैले पनि कौसी खेतीले उनलाई प्रेरित ग¥यो ।

०६२ सालमा तीन बोरा माटो लिएर उनले यो खेती सुरु गरेकी थिइन् । ‘सुरुमा तीन बोरा माटो लिएर छिटो र सजिलो हुने भएकाले मैले खुर्सानी रोपेको थिए । खुर्सानी रहर लाग्ने गरि फल्यो, त्यसपछि विस्तारै अन्य तरकारीहरु थप्दै गए,’उनी भन्छिन्, ‘कौसी खेती सन्देश दिनका लागि पनि मैले सुरु गरेको हँु । आफ्नै घर हुनेहरुले प्रत्येकले कौसी खेती ग¥यो भने हामी सबै आत्मनिर्भर बन्न सक्छौ, परनिर्भरता घटेर जान्छ ।’

३३ वटै वडामा कृषि सञ्जाल

महानगरका ३३ वटै वडामा कृषि सञ्जाल गठन भएको छ । महानगरले २३ वटा वडालाई कृषि सञ्जाल वडा भनेर छुट्याएको छ भने १० वटा वडालाई कन्जुमर अर्थात बसेर खाने वडा भनेर छुट्याएको छ ।

सरस्वती समाजशास्त्री तथा कृषि सञ्जालको संयोजक पनि हुन् ।सरस्वती लगायत ४०÷५० जनाको समूहले फोहोरमैलाको व्यवस्थापनसहित कौसी खेती भनेर दुई–दुई दिनको ट्रेनिङ दिँदै आएका छन् ।

कौसी खेती भन्नाले घरको छत नै भन्ने पनि होइन जहाँ जग्गा छ खाली ठाउँ छ त्यस ठाउँ अनुकुलको बिरुवा लगाउन सकिने उनी सुझाउँछिन् । गमलाको सट्टा ग्रो ब्याक,माटोको सट्टा कोकोपिट प्रयोग गर्न सकिने उनको भनाइ छ ।

‘फूल रोपेको ठाउँमा ५० प्रतिशत कौसी खेती ग¥यौ भने हामीले खान पाउँछौ । फूलले दिने आँखालाई मनोरञ्जन हो भने फलले शरीरलाई मनोरञ्जन दिन्छ, निरोगी राख्छ । सबैको छतमा भएको गमलामा धेरैथोरै खेती गर्न सिकौँ,’ सरस्वती सुझाउँछिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.