
चितवन ।
चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउदैँ आएको छ ।सो सामुदायिक वनले विगत नौ वर्षदेखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको हो ।
वनजङ्गल र वन्यजन्तु संरक्षणसँगै वन पैदावर सामग्रीबाट प्राप्त भएको आम्दानी रकमबाट प्रति ज्येष्ठ नागरिकलाई भत्ता स्वरुप मासिक २०० उपलब्ध गराउँदै आएको सो सामुदायिक वनका अध्यक्ष राजकुमार रानामगरले बताए । विसं २०६७ देखि नै यहाँका ज्येष्ठ नागरिकलाई भत्ता स्वरुप वनले सो रकम उपलब्ध गराउँदै आएको उनले बताए ।
यसैगरी सो वनले एकल महिला र पुरुषलाई पनि मासिक २०० भत्ता रकम वितरण गर्दै आएको छ । अध्यक्ष मगरका अनुसार २०७५÷७६ मा ३६ जना ज्येष्ठ नागरिक, एकल महिला र पुरुषलाई भत्ता रकम वितरण गरेको छ ।
त्यस्तै रानीखोला सामुदायिक वन उपभोक्ता समितिले सुत्केरी भत्ता पनि उपलब्ध गराउँदै आएको छ । दुई बच्चा जन्माउनसम्मका लागि एक हजार सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ । दुईभन्दा बढी बच्चा जन्माउनेलाई भने भत्ता दिने गरेको छैन् ।
समितिले समूहमा आवद्धको जीविकोपार्जनदेखि वन र वन्यजन्तु संरक्षणको काम पनि गरिरहेको छ । जिल्लाको वरण्डाभार क्षेत्रका वनमा साझा संस्थामा रहेको १७ वन समूहमध्ये रानीखोला सामुदायिक वन समूह पनि एक हो ।
वन संरक्षणमा लागेवापत समितिलाई ४३ वटा भैँसी अनुदान प्राप्त भएको थियो । वरण्डाभार संरक्षित वन परिषद् कोषबाट प्राप्त भैँसी जीविकोपार्जनका लागि वन समूहका सदस्यलाई वितरण गरिएको अध्यक्ष मगरले बताए ।
विसं २०५८ मा स्थापना भएको रानीखोला सामुदायिक वन उपभोक्ता समिति विसं २०६७ मा समुदायलाई हस्तान्तरण गरिएको हो । हाल समितिमा १५८ घरधुरी आवद्ध छन् । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.