www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा

काठमाडौं ।

भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोर्वद्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।

सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले सो निम्ता दिएका हुन ।

Batas

यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइए पनि प्रधानमन्त्री ओली त्यहाँ पुग्न सकेका थिएनन्। हिन्दूधर्मका चारधाम बद्री, केदार, रामेश्वर र जगन्नाथ धाममध्ये उडिसामा जगन्नाथ र गोर्वद्धन मठ पर्छन् ।

प्रतिनिधिमण्डलमा समाजका उपाध्यक्ष धर्मराज बराल, महासचिव पुष्पराज पराजुली, समाजका सदस्य तथा अन्तरराष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष प्रदीप खनाल, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, सदस्य पुष्कर आचार्य, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत रहेका थिए ।

समाजले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आगामी शिवरात्रि वा कुनै अनुकूल समयमा नेपालको भ्रमणका लागि पुरीका शङ्कराचार्यलाई निमन्त्रणमा पनि दिएको छ ।

गोर्वद्धन मठका १४५ औँ शङ्कराचार्य निश्चलानन्दले नेपाल(जनकपुर, काठमाडौँ र वीरगञ्ज)को दुई पटक भ्रमण गरिसकेका छन् । गत वर्ष उनलाई प्रधानमन्त्री ओलीकै आतिथ्यतामा शहीद मञ्च टुँडिखेलमा अभिनन्दन पनि गरिएको थियो ।

सो अवसरमा मठका शङ्कराचार्यले आफू गत वर्ष नेपाल आउँदा प्रधानमन्त्री ओलीले आफ्नो साधुताको परिचय दिएको र उनीसँग निकै ज्ञान रहेको आफूले पाएको अनुभव सुनाए।

उनले नेपालको अवस्था बिग्रेमा भारत पनि सुरक्षित नहुने बताउँदै जानकीलगायत धेरै देवदेवीको जन्मभूमि नेपालको संरक्षणमा जोड दिए । उनले नेपालका ५० औँ हिन्दू सङ्घसंस्थालाई एक हुन आग्रह गर्दै तर अनावश्यक शक्ति प्रदर्शन नगर्न र व्यूहरचना गरेर अघि बढ्न आह्वान गरे ।

शङ्कराचार्यका उत्तराधिकारी निर्विकल्पनानन्दले केही नेपाली हिन्दू नेतृत्वमा व्यक्तिगत र गुटगत स्वार्थ देखिएको बताउँदै आफूहरुले शङ्कराचार्यको भावना उतार्ने सत्यनिष्ठ व्यक्तिको खोजी गरिरहेको स्पष्ट गरे।

सोही अवसरमा पशुपतिनाथका मूलभट्ट गणेश रावलले पठाएको पशुपतिनाथको प्रसाद र शङ्कराचार्यको स्वास्थ्यलाभको कामना गरिएको पत्र अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष खनालले शङ्कराचार्यलाई हस्तान्तरण गरेका थिए ।

यसैबीच सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री बाँस्तोलाले ‘नीलाचल से नेपाल तक’(समुद्रदेखि नेपालसम्म) नामक ब्यानरको नेपाल भवन जगन्नाथ धाममा अनवरण गरे । जगन्नाथधाम चेतना गवेषण प्रतिष्ठानले स्थापना गरेको ब्यानरमा जगन्नाथदेखि मुक्तिनाथ र पशुपतिनाथ भ्रमण र दर्शनका लागि आह्वान गरिएको छ ।

यस्तै नेपाली प्रतिनिधिमण्डललाई जगन्नाथ धामका मूल पुजारी जनार्दन पात्र जोशी महापात्र चित्तसनिजोक नायकले जगन्नाथधामको ध्वजा उपहार दिएका थिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.