www.tandavnews.com
Fact ~ In search of truth

एक वर्षदेखि तलब नपाएका जाजरकोटका शिक्षकले गरे विद्यालयमा तालाबन्दी

जाजरकोट ।

जाजरकोटको एक विद्यालयका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् ।

तालाबन्दीले तीन दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध भएको छ । निजी स्रोतबाट राखिएका शिक्षक रवीन्द्र खत्री, मीना बुढा, इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । विद्यालयमा आम्दानीका स्रोत नभएपछि तलब उपलब्ध गराउन नसकेको प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए।

वडा नं ८ मा परेका सबै योजनाहरुको रकम हल्चौरदेखि राम्रासम्मको घोडेटो बाटोमा बजेट हालेर स्थानीयवासीको श्रमदानसमेतमा निर्माण भएको बाटोको रकमबाट शिक्षकलाई तलब उपलब्ध गराउने विद्यालय व्यवस्थापन समितिले लिखित सहमति गरेको छ । योजनाको छ लाख २० हजार पूरै निकासा भए पनि उपभोक्ता समितिले पाँच लाख मात्र उपलब्ध गराएको बताइएको छ । रासस

सोही बाटो अहिलेसम्म तीन पटक निर्माण भइसकेको छ । विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतबाट राखिएका शिक्षकले पढाएर विद्यालय सञ्चालन हुँदै आएको छ । वर्ष दिनसम्म विद्यालयमा पढाए पनि तलब नपाएको भन्दै शिक्षकहरु तलब उपलब्ध नगराएसम्म ताला नखोल्ने अडानमा छन् ।

विकास निर्माणका लागि आएको रकम विद्यालयमा हालेर काम राम्रो नगरेको आरोपसमेत लागेको छ । विद्यालयको समस्या समाधान गर्न अभिभावक भेला बोलाएको प्रध्यानाध्यापक सिंहले बताए । यो भन्दा अगाडि वन उपभोक्ता समूहको रकम र अभिभावकले चन्दा उठाएर विद्यालय सञ्चालन गर्दै आएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.