www.tandavnews.com
Fact ~ In search of truth

ओझेलमा परेको पोखराको प्रदेश संग्राहलय पर्यटकको पखाईमा !

पोखरा । 

पोखरा पर्यटकीय राजधानीको रुपमा पनि चिनिन्छ । यहाँ थुप्रै प्राकृतिक एवम् मानव निर्मित संरचनाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तानिरहेको छ । यहि पोखरामा रहेको प्रदेश संग्राहलय ऐतिहासिक महत्व बोकेर पनि प्रचार–प्रसारको अभावले पछाडी परेको छ । अहिले प्रदेश संग्राहलयलाई ऐतिहासिक अध्ययनको थलोको रुपमा विकास गर्नको लागि ग्यालरीहरु थप गरेर आकर्षक बनाइएको छ ।

वि.सं. २०४१ साल माघ २३ गते सर्वसाधारणको लागि खुल्ला गरिएको यस क्षेत्रिय संग्राहलय २०७५ साल भदौ २४ गते प्रदेश संग्राहलयको रुपमा रुपान्तरण भएको थियो । पोखरा महानगरपालिका ९ नयाँ बजारमा रहेको पोखराको पहिलो संग्राहलयमा गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका दैनिक जीवनशैली, भेषभूषा, गरगहना, बाजागाजा, कृषि औजार, देवीदेवताका मूर्तीहरु तथा संस्कृति सम्बन्धी विभिन्न सामग्रीहरु यस संग्राहलयमा देख्न पाइन्छ ।

Batas

त्यस्तै हिमाली जिल्ला मुस्ताङमा उत्खननबाट प्राप्त पुरातात्वीक सामाग्रीहरु पनि यस संग्राहलय प्रदर्शनीको अर्काे आकर्षण हो । माटोको भाँडा, पुराना माला, धातुका हातहरियार, काठका हातहतियार, ढुंगाको औजारहरुबारे प्रत्यक्ष अध्ययन अबलोकन गर्न पाइने यस संग्राहलयको अर्काे विशेषता हो । संग्राहलयमा हिमाल र पहाडको सभ्याताको विकासक्रमको अध्ययन गर्न सकिन्छ । संघ सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ११ लाख रुपैयाँको आर्थिक सहयोगमा नयाँ ग्यालरी थपिएको छ । उक्त ग्यालरीको विहीबार प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन् ।

‘यहाँ अझै धेरै ऐतिहासिक महत्वका बस्तुहरु राख्नुपर्ने देखिएको छ,’ मन्त्री पुनले भनिन्, ‘त्यसको लागि प्रदेश सरकारले चालु वर्षमा यो संग्राहलयको लागि एककरोड रुपैयाँ छुट्याएको छ । त्यसले धेरै कुराहरु थपेर यसको महत्व अझ बढाइने छ ।’ उनले संग्राहलयलाई भेटघाटको थलो मात्र नबनाई अध्ययन अबलोकनको साथसाथै आयआर्जनसँग पनि जोड्नुपर्ने बताइन् ।

संग्राहलयकी प्रमुख करुणा राईले प्रचारप्रसारको अभावले संग्राहलय महत्वपूर्ण भएपनि पछि परेको बताइन् । ‘यो संग्राहलयको महत्व धेरै छ,’ उनले भनिन्, ‘तर, यसको प्रचारप्रसार हुन सकेको छैन । पोखरा जस्तो पर्यटकीय ठाउँमा यो ओझेल परेको छ । कर्मचारी अभाव, भौतिक संरचना अभावले पनि काम गर्न समस्या भइरहेको छ ।’ संग्राहलयमा ग्यालरीहरुहरुमा पुराना ऐतिहासिक महत्वको सामाग्रीहरु रहेको भन्दै उनले त्यसको रेखदेखको लागि ग्यालरी गार्ड आवश्यक रहेको उनले सुनाईन् । त्यस्तै १० दरबन्दी रहेको संग्राहलयमा अहिले जम्मा चार जनामात्रै कर्मचारीहरु छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.