
काठमाडौं ।
अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यू–१९) एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आजदेखि शुरु भएको छ ।
काठमाडौँमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरिएको हो । एक महीना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान बनाएको थियो ।
नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेदेखि मात्र शुरु हुने नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए ।उनले एसिसीले साउन २७ गतेदेखि मात्र नेपाली टोलीको औपचारिक प्रशिक्षण शुरु गर्ने स्वीकृति दिएकाले सोही समयमा औपचारिक प्रशिक्षण शुरु गर्ने बताए ।
यसअघि यही साउन २१ गते मङ्गलबारदेखि प्रशिक्षण गर्ने भनिएता पनि एशियन क्रिकेट काउन्सिल (एसिसी) बाट बजेट स्वीकृति नहुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको थियो । एसिसी इस्र्टन रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडीमध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइने प्रशिक्षक दासको भनाइ छ ।
आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना एसिसी यू–१९ एशिया कपमा एशियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, भारत, पाकिस्तान श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।
गत असारमा मलेसियामा सम्पन्न इस्र्टन रिजन च्याम्पियनसिपमा नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै एशिया कपको यात्रा तय गरेको थियो । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.