www.tandavnews.com
Fact ~ In search of truth

हेडलाइनमा जाकिएका जनता

ठ्याक्कै यति नै भन्न नसकिएपनि कुल मध्ये आधा बढी नेपाली मोबाइल बोक्छन् । प्रविधिको द्रुत विकाससँगै एन्ड्रोइड, आइओएसले आफ्नो युग जमाइरहेका छन् ।

केहि वर्ष पहिले नोकियाको फोन र म्यासेजमात्रै गर्न मिल्ने मोबाइल सेटमा रमाउनेहरु आज विभिन्न ब्राण्डका मल्टीफिचर्ड सेटहरु निको मान्छन् । घण्टौँ लाइनबसेर १० हजार तिरेर सिमकार्ड लिनुपर्ने अवस्था पनि रहेन । १ सय मै सिमकार्ड पाइन्छन् आजकल ।

‘जिपीआरएस’बाट घण्टौँ लोड लिएर चलाइनुपर्ने इन्टरनेट सेवा अहिले ‘फोर जी’ सम्म विकसीत भएको छ । त्यसो त इन्टरनेट सेवा प्रदायकहरु पनि बढे । सिमकार्डबाट भन्दा डाइरेक्ट इन्टरनेट सेवा प्रदायककै इन्टरनेट चलाउनेको संख्या बृद्धी भइरहेको छ ।

Batas

यसअर्थमा, नेपालीहरु पनि प्रविधिसँगै अपडेट भइरहेका छन् ।

इन्टरनेटको बजार हाइ स्पीडमा कुदिरहँदा विभिन्न सफ्टवेयरहरु पनि विकसित हुँदै गए । अनलाइनको युग सुरु भयो । प्रयोगकर्ता बढ्दै जान थालेपछि ‘सफ्टवेयर डेभलपर’हरुले पनि मोबाइल लक्षीत एप बनाउन थाले । उनिहरुको चाहना नै मानिसहरुले आफ्नो प्रोडक्ट जति सक्दो धेरैले, धेरैबेर प्रयोग गरिदिउन् भन्ने रह्यो । सँगै विभिन्न वेबसाइट डेभलपरहरु पनि यस कुरामा लागिरहे ।

मार्क जुकरवर्गले यहि सोचेर फेसबुकको कन्सेप्ट ल्याए । पे-पलका लागि काम गर्ने चड हर्ले, स्टिभ चेन र जावेद करिमले भिडियो सेयरिङको कन्सेप्ट सहित यु ट्युव डट कम डोमेन लिएर इन्टरनेटको दुनियाँमा तहल्का मच्चाइरहेका छन् ।

अब, यहाँ नेर विषयवस्तु जोडौँ समाजिक संजालको । नेपालीहरुले अधिक चलाउने भनेको फसबुक र युट्युब नै हो । स्वयंलाई प्रश्न गर्ने हो भने , यि दुई वेबसाइटमा नेपालीहरुको लगाव कति छ अनुमान लगाउन सकिन्छ ।

विदेशिएका करिब ४० लाख नेपालीहरुले घरमा पहिलोपटक पठाउने कोसेली भनेकै मोबाइल हो । मोबाइल आउने वित्तिकै सुरुमा खोलिने फेसबुक, त्यसपछि युट्युव । सजिलो, छरितो पनि त छ । अब नेपालीहरुलाई पत्रिका आवश्यक पर्न छाड्यो । सबै कुरा फेसबुक र युट्युव मै आउँछन् ।

अपराधी पत्ता लगाउन ‘हिट देम बिट्वीन द आइज’ भने जस्तै प्रयोगकर्ता बढ्न थालेपछि विभिन्न समाचार संचारका वेबसाइटहरु खुल्न थाले । वेबसाइट निर्माण गर्नेहरुले फेसबुक लक्षीत गरेर ‘हिट देम’को फर्मुला यता पनि लगाए । कोही व्यवस्थीत व्यवसायीक भएर लागे, कोही अव्यवस्थीत छाडा भएर लागे । खोलिएका समाचार पोर्टलहरु केही तथ्यको पछि दौडी रहेका छन्, केही भाइरल गराउने धुनमा बेसुरा बाँसुरी बजाइरहेका छन् ।

अस्ती मात्रै मेरो फेसबुक न्यूज फिडमा एउटा वेबसाइटमा प्रकाशित समाचार कन्टेन्ट देखियो । हुन त, म त्यसरी आएका गलत जस्ता लाग्ने वेभसाइट फलो नै गर्दिनँ । तर, पैसा खर्चेर बुस्ट हान्दीएपछि देखिहाल्छ ।

उक्त वेबसाइटको हेडलाइन थियो‘संसारमा यस्तो मात्रै देश छ जहाँ भ्रष्टचारीहरु मिलेर देश चलाइएको छ’ । सिएनएनका न्यूज प्रिजेन्टरले भनेको जस्तै तस्विर फिचर्ड थियो ।

देशको अवस्थाले निराशिएका जनतालाई यति हेडलाइन पाएपछि के चाहियो । चाइनाको हाइ स्पीड बुलेट ट्रेनको गतिमा शेयर भइहाल्यो । तर त्यस लिंकमा क्लीक गर्दा भित्र केही कन्टेन्ट नै थिएन ।

यस्तै प्रकृतिको अर्को हेडलाइन पनि मेरै फ्रेण्ड लिस्टमा भएका सिनियर दाईले शेयर गरे । लेखिएको थियो‘एनसेलले भन्यो, चुनावमा एमाले माओवादीलाई दिएको १० अर्व फिर्ता पाऊ, भोली नै कर तिर्छौँ’ । यहाँ पनि भित्र कन्टेन्ट केही थिएन, मस्त भाइरल मात्रै भइरहेथ्यो समाजिक संजालमा ।

यि वेबसाइटहरुमा संचालक, प्रकाशकहरुको नाम देख्न पाइदैन । त्यस्तो हेडलाइनले नेपाली मस्तीष्कमा कति असर पार्छ त्यो उनिहरुले सायदै आँकलन गर्लान् ।

आजकल धेरै सजिलो छ यस्ता वेबसाइट बनाउन । ५ हजार देखि २५ हजारसम्मका अफरमा निर्माण हुने यस्ता वेबसाइटले देशका जनतालाई नेगेटिभिटीको खाल्डोमा जाकिरहेका छन् ।

मोबाइल बोक्ने अधिकांशले विहान ओछ्यानमै समाजिक संजाल नियाल्छन् । मेरो पनि बानी त्यस्तै छ । एकविहान फेसबुक खोल्ने वित्तिकै एउटन कन्टेन्ट देखियो । ‘एकाविहानै आयो दुखद खबर, हेर्नुस् त के भएको यस्तो’ हेडलाइन थियो । खोलेर हेर्दा फूस्सा । केही पनि थिएन । यो पनि मस्त पारामै शेयर भैरहेथ्यो ।

यस्ता उदाहरणहरु दिइ नसक्नु छन् ।

यि कुरा उल्लेख गरिनुको स्वार्थ के हो भने, सकेसम्म त्यस्ता कन्टेन्ट हेर्दै नहेरौँ । तपाइलाई बेस्कन खुल्दुली लाग्यो भने एक क्लिक गरौँ, हेरौँ । हेडलाइनमै रमाएर शेयर नगरौँ ।

समाजीक संजालमा त्यस्ता कन्टेन्ट दिइरहने पेजहरुलाई अनफलो गर्न पनि सकिन्छ । ‘सक्दो शेयर गरौँ’ भनेर लेख्दैमा तपाइलाई शेयर गर्न अनिवार्य छ भनिएको होइन ।

सरकारले यस्ता कुरालाई अहिलेसम्म बेवास्ता नै गरिरहेको छ । यि कुराले जनताहरु कहाँसम्म द्धिगभ्रमित भइरहेका छन् भन्ने कुरा हेक्का छैन निकायहरुलाई । राजनीतिक गतिरोध ढलमल भएको अवस्थामा यि साना कुराले पनि ठूलो असर पार्छ, पारिरहेको छ ।

प्रेस काउन्सील र संचार मन्त्रालयले यस्ता वेबसाइटहरु बन्द र संचालन गर्नेलाई कारवाहि नगर्ने हो भने स्थीति भयावह बन्न सक्छ । सुन्दा हेर्दा केही हुन्न जस्तो लाग्न सक्छ । तर, हेडलाइनकै कारण गणेशमान सिंहले भनेको जस्तै हामी नेपाली जनताहरु भेडा स्वभावी हुन थालेका छौँ ।

सजग हुने स्वयं प्रयोगकर्ता नै हो । कतै फेसबुकमा शेयर बढाउने स्वार्थमा त्यस्ता हेडलाइन आएका हुन् की ? पेज भाइरल होस् भन्ने हेतुले तपाइ प्रयोग हुनुभएको छ कि ? सचेत हुने समय आएको छ ।

अवस्था यस्तै रहिरह्यो भने तेस्रो पटकमा साँच्चै बाघ आएर मान्छे खाएको कथा जस्तो नहोला भन्न सकिन्नँ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.