www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको ऐतिहासिक खड्ग भवानी कोतसम्म पदमार्ग

बेनी ।

करीब छ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको म्याग्दीकै ऐतिहासिक स्थल खड्गभवानी कोतसम्म व्यवस्थित पदमार्ग निर्माण गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेदेखि खड्गभवानी कोत जोड्ने पक्की सिँढीसहितको २५० मिटर पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३५३ वटा सिँडीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्ग भवानी कोत पुग्न सहज भएको छ ।

आव २०७५÷७६ मा मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत प्राप्त १४ लाख ९९ हजार ४८६ र उपभोक्ताको तीन लाख २१ हजार बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण भएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापाले बताए ।

पदमार्ग निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले दुई मिटर फराकिलो पदमार्गको १९० मिटर दुरीमा फलामको रेलिङ राखिएको बताए । पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षित रुपमा हिँड्डुल गर्न सकिनुका साथै पर्यटकको समेत आवागमन बढ्ने स्थानीय हरि घिमिरेले विश्वास व्यक्त गरे ।

खड्ग भवानी कोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, चुरेन लगायतका १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढि गाउँहरु, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ ।

खड्ग भवानी कोतस्थललाई राजधानी बनाइ विसं १२४६ देखि १५४५ सम्म थापाहरु र त्यसपछि मल्ल राजाले ज्यामरुककोटमा राज्य गरेका थिए । यस कोतमा ५७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री रहेका छन् ।

पाचँवर्षे गुरुयोजनासहित समृद्ध गाउँपालिकाको तयारीमा रघुगङ्गा

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले प्रथम पञ्चवर्षीय योजना बनाएर समृद्ध रघुगङ्गा अभियानमा जुटेको छ । जिल्लाका ६ वटा स्थानीय तहमध्ये पञ्चवर्षीय योजनासहित समृद्ध गाउँपालिकाको तयारीमा जुट्ने रघुगङ्गा पहिलो गाउँपालिका बनेको छ ।

समुन्नत र समृद्ध रघुगङ्गा निर्माण गर्ने लक्ष्यलाई कार्यान्वयन गर्नको लागि योजनाबद्ध विकास गर्न प्राथमिकताका आधारमा पञ्चवर्षीय योजना बनाएर कामको थालनी गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्मका लागि पञ्चवर्षीय योजना तय गरिएको अध्यक्ष भण्डारीको भनाइ थियो । यो योजनामा आर्थिक विकास र गरीबी निवारणलाई जोड दिइएको छ । पञ्चवर्षीय योजनामा मध्य र दीर्घकालीन प्रकृतिका योजनाको वडागत सूचीसमेत तयार पारिएको उनले बताए ।

योजना कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष भण्डारीको नेतृत्वमा आवधिक योजना तर्जुमा निर्देशक समितिसमेत गठन भएको छ । विसं २०७७ मा मध्यावधि मूल्याङ्कन गरिने योजनामा बहुक्षेत्रगत विकासका नीति, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत्, सूचना, सञ्चार क्षेत्रलाई महत्व दिइएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।

‘‘रघुगङ्गाको विकासमा यसले दिशा निर्देश गर्नेछ, विकासलाई कत लैजाने भन्ने कुराको ठोस निक्यौल गर्न पञ्चवर्षीय योजनाले सहयोग पुग्ने अपेक्षा गरेका छौँ’’, प्रमुख प्रशासकीय अधिकृत थापाले भने । करीब तीन महीनाको वडागत रुपमा छलफल गरी इगल्स सोलुसन्स प्रालिको प्राविधिक सहयोगमा गाउँपालिकाले आवधिक योजना निर्माण गरेको हो ।

आवधिक योजना तर्जुमा निर्देशिका बमोजिम विस्तृत स्थलगत अध्ययन गरी समस्या र सम्भावनाको पहिचान एवं प्राथमिकता तोकेर दीर्घकालीन विकासको खाकालाई योजनामा समावेश गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

“यसलाई दीर्घकालीन मार्गदर्शनको रुपमा लिएका छौँ, समग्र विकासलाई यसभित्र प्राथमिकतामा राखेका छौँ, गौरवका योजना र क्षेत्रगत योजना प्राथमिकीकरण भएकाले प्रदेश र सङ्घीय सरकारसँग विकास साझेदार गर्न थप सहज हुने विश्वास लिएको बताउँदै योजनामा क्षेत्रगत विकासको लक्ष्य, कार्यक्रमको विश्लेषण, दीर्घकालीन भौतिक विकासको योजनालाई समेटिएको अध्यक्ष भण्डारीको भनाइ छ ।

पालिकाभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलको अवस्था र विकासको सम्भावना, वडागत भौतिक पूर्वाधार योजना, सडक लगायतका विकास निर्माण योजनासँगै अवसर, चुनौती र समस्या समेटिएको छ । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सञ्चारलगायत क्षेत्रको अवस्था र प्राथमिकतालाई आवधिक योजनामा समेटिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.