म्याग्दी ।
म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिकाले बहुउपयोगी जडीबुटी सतुवाको व्यावसायिक खेती विस्तार गरेको छ । सतुवा खेतीको सम्भावित क्षेत्र गुर्जा, मल्कबाङ, मुदी, लुलाङ, ताकम र मुनामा यसको व्यावसायिक विस्तार गरिएको हो ।
उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा सतुवा खेती विस्तारका लागि १७ लाख बजेट छुट्याएर छ वटै वडामा सतुवाको गाना वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए ।उनका अनुसार मुदीमा ३० हजार, मल्कबाङमा २५ हजार, मुनामा ११ हजार, गुर्जामा आठ हजार, लुलाङ र ताकममा पाँच÷पाँच हजार सतुवाको बीउ ९गाना० वितरण गरिएको छ ।
सतुवालगायत बहुउपयोगी जडीबुटीको सम्भावनायुक्त क्षेत्रको पहिचान गरी उक्त गाउँपालिकाले गरीब तथा विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउनका लागि कृषि तथा जडीबुटी समूह गठन गरी सामूहिक रुपमा सतुवा खेती परीक्षणका रुपमा अघि बढाएको हो ।
उच्च पहाडी क्षेत्रको वनजङ्गलमा हुने सतुवाको उत्खनन व्यवस्थित नहुँदा पछिल्लो समय सतुवा नै हराएर जाने समस्या बढ्न थालेको थियो । प्राकृतिक जडीबुटी लोप हुने स्थितिमा पुगेकाले तिनको संरक्षण र आर्थिक विकासमा समेत सहयोग पुर्याउन व्यावसायिक खेती थालिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
“यस गाउँपालिकाको बलियो आयस्रोतको जडीबुटी सतुवा हो, जङ्गलमा पाइने यस्ता जडीबुटीको अव्यवस्थित उत्खननलाई व्यवस्थित बनाउनुपर्छ, खेतीकै रुपमा गर्न सकिने जडीबुटीलाई अभियानकै रुपमा विस्तार गर्न जोड दिएका छौँ”, उनले भने । समुद्र सतहदेखि एक हजार ४०० मिटरभन्दा माथिको उचाइमा सतुवाको खेती गर्न सकिन्छ । यसको उचित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउनाका साथै विभिन्न प्रकारका रोगसमेत निको पार्ने भएकाले उच्च माग छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।