www.tandavnews.com
Fact ~ In search of truth

बलियो आर्थिक साझेदारी गर्दै नेपाल–भारत : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् ।

भारतको ७३ औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समृद्ध भारत नेपालका लागि पनि अवसर हुने बताए ।मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूलाठूला उपलब्धि हासिल गरेको र विश्वका ५÷६ वटा ठूला अर्थतन्त्रमध्येमा भारत पनि पर्न सफल भएको बताए ।

नेपाल र भारत आर्थिक विकासलाई केन्द्रबिन्दु बनाएर बलियो आर्थिक साझेदारी गर्न लागेको उल्लेख गर्दै उनले दुई देशबीच धेरै योजना सम्पन्न भएका र केही योजना प्रगतिउन्मुख भएको बताए ।मन्त्री ज्ञवालीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइसकेको र त्यसबाट नेपालको पेट्रोलियम ढुवानीमा अर्वौं रुपैयाँ जोगिने बताउँदै भारतीय सहयोगमा हुलाकी राजमार्ग निर्माण हुँदै गरेको जानकारी दिए।

पछिल्लो समयमा दुई देशबीच सहयोगका तीन क्षेत्रमा आयोजनाहरु अघि बढेको उल्लेख गर्दै उनले सीमापार रेलमार्ग, आन्तरिक जलमार्ग तथा कृषिमा साझेदारीअन्तर्गत सहयोग अघि बढाइएको जानकारी दिए । नेपालमा भारतबाट विप्रेषण आउने मात्र नभई नेपालबाट पनि विप्रेषण भारत जाने गरेको पनि मन्त्री ज्ञवालीले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारत विश्वमा साँच्चिकै एक शक्तिका रुपमा उदाएको र मानवजातिको उन्नतिका लागि नमूनाका रुपमा काम गरिरहेको बताए ।

नेपाल–भारतबीच सम्बन्धका चार तह रहेका बताउँदै उनले राजनीतिक, आर्थिक, सुरक्षा र सांस्कृतिक सम्बन्धमध्ये आर्थिक सम्बन्ध महत्वपूर्ण हुने र नेपालको व्यापार घाटा कम गर्दै लैजानका लागि भारतसँग सहयोग र सद्भावना लिनुपर्दछ भने ।

नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थ एव्म परराष्ट्रमन्त्री डा रामशरण महतले भारत धेरै देशको लोकतान्त्रिक सङ्ग्रामका लागि पनि प्रेरणादायी रहेका उल्लेख गर्दै विपी कोइराला, सूर्यप्रसाद उपाध्याय, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी आदि नेताहरु भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएकाले नै त्यसैबाट प्रभावित भएर नेपालमा पनि प्रजातन्त्रका लागि क्रान्ति भएको र संसदीय प्रणाली अपनाउन पुगेको बताए ।

भारतको बाटो भई ९० प्रतिशतभन्दा बढी सामान आउने गरेको बताउँदै उहाँले भारतबाट धेरै लगानी होस्, प्रविधि आओस् र पर्यटक धेरै आऊन्, नेपाली उत्पादन पनि भारत जाने वातावरण बनोस् उनले भने ।

भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालका नेताहरु विपी, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, तुल्सीलाल अमात्य आदिको भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागिता मात्र होइन, भारतीय नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहियाले नेपालको हनुमाननगरमा शरण र्लिएकोबाट पनि नेपाल–भारत सम्बन्धबारे आँकलन गर्न सकिने बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोचेभन्दा बढी बहुमत हासिल गरेकाले अहिले पूर्णतया विकासमा केन्द्रित भएको र अहिले विश्वमै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल भएको जानकारी दिए ।

प्रधानमन्त्री मोदीले सन् २०१८ मा दुई पटक नेपाल भ्रमण गरेको र नेपालका जनकपुर, मुस्ताङ जस्ता पर्यटकीयस्थलमा उनको भ्रमणले ती ठाउँमा भारतीय पर्यटकको ठूलो सङ्ख्यामा वृद्घि भएको उल्लेख गर्दै उनले नेपाल–भारत सहयोगमा वीरगञ्जमा अन्तर्राष्ट्रिय जाँच चौकी (आइसिपी) उद्घाटन भएको, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएको र उद्घाटन हुन मात्र बाँकी रहेको, गत वर्ष शिलान्यास भएको अरुण तेस्रोको निर्माणले गति लिएको र यो आयोजना सम्पन्न भएमा नेपालमा गुणात्मक परिवर्तन हुने बताए ।

भारतले काश्मिरबारे लिएको निर्णयले त्यहाँको विकास हुने र भारत सुदृढ हुने पनि उनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.