www.tandavnews.com
Fact ~ In search of truth

अब घोडेपानीसम्मै मोटर

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानी सडक सञ्जालमा जोडिएको छ । असार, साउनको झरी, बादल नभनी सडक निर्माण भएपछि अब घोडेपानीसम्मै मोटर चढेर पुग्न सकिने भएको हो । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा चित्रेदेखि घोडेपानी जोड्ने सडकको ट्र्याक खुलेको हो ।

प्रदेशको रु ३२ लाख ७० हजार र अन्नपूर्ण गाउँपालिकाको रु १५ लाखको लागतमा पाँच किलोमिटर सडकको ट्र्याक (मार्ग) निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालयले रु ५३ लाख ४० हजार लागत अनुमान गरे पनि जनश्रमदानसहित रु ३६ लाख ३८ हजारमा लक्षित सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले बताए ।

Batas

“प्राविधिकको लागत इष्टिमेटभन्दा धेरै–थोरै बिलमा सडक निर्माण गरेका छौँ”, पुनले भने , “इष्टिमेटभन्दा झण्डै रु १८ लाख कम खर्चमा सडक निर्माण भयो । बचेको पैसा बिल बनाएर राखेनौँ, प्रदेश सरकारको खातामै फिर्ता गरेका छौँ ।”

सात मिटर फराकिलो सडकमा बर्खा सकिएलगत्तै मर्मत गरेर सवारी सञ्चालन गरिने वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । कताबाट सडक लैजाने भन्ने विषयमा स्थानीयवासीको विवादका कारण अघिल्लो आर्थिक वर्षमा काम हुन सकेको थिएन । आव २०७५÷७६ मा घोडेपानी र चित्रेका बासिन्दाबीच सहमति जुटेपछि सडक निर्माण भएको हो ।

घोडेपानीका बासिन्दाका साथै पर्यटकलाई आवतजावत, ढुवानी र निकासीमा सहज हुने अपेक्षा गरिएको छ । बर्खामा खनिएको सडक सामान्य मर्मतपछि सहजरूपमा सवारीसाधन सञ्चालन गर्न सकिने पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर रविन चोखालले बताए ।

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रेसम्म यसअघिनै सडक निर्माण भएको थियो । चित्रेदेखि घोडेपानीमा ढुवानीका लागि घोडा, खच्चड र भरियामा निर्भर हुनुपर्ने थियो । दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानीमा बढी खर्च हुन्थ्यो ।

समाजको आवश्यकताले पर्यटकीय पदमार्गलाई असर नपुग्ने र नमासिने गरी सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । घोडेपानीदेखि पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा पर्ने नयाँ पुललाई सडकले जोड्ने योजना छ ।

कास्की तर्फबाट म्याग्दीको सिमानामा पर्ने वनठाटी नजिकैको बस्ती उल्लेरीसम्म सडक निर्माण भइसकेको छ । “दुई जिल्ला जोड्ने सडक यस क्षेत्रको लाइफलाइन पनि बन्न सक्छ”, अध्यक्ष पुनले भने । उल्लेरीदेखि घोडेपानीको दूरी करीब १५ किलोमिटर छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित आयोजना सञ्चालन गरेको छ । पोखरेबगरदेखि दुरबिनडाँडा घार हुँदै शिखसम्म सडक फराकिलो बनाइएको छ ।

घोडेपानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित घोडेपानी पुनहिल र घान्द्रुक जाने आउने पदमार्गको केन्द्र हो । घोडेपानीदेखि ४० मिनेट उकालो हिँडेपछि पुगिने पुनहिल सूर्योदय, हिमशृङ्खला, गुरासे जङ्गलको दृश्य अवलोकनका लागि प्रसिद्ध छ । (रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.