
लमजुङ ।
यतिबेला लमजुङका किसानलाइ कोदो रोप्न भ्याइनभ्याई छ । धानको बीउ रोपिसकेका किसानलाई साउन शुरु भएदेखि कोदो रोप्न भ्याइनभ्याई भएको हो ।
दोर्दी गाउँपालिका–५ पाचोकस्थित सिमरुङगाउँका ४० वर्षीय कुमार तामाङले साउन २ गतेबाट कोदो रोप्न शुरु गरे । “बिहान–बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै हुन्छन् उनी । अहिले कोदो रोप्न भ्याइनभ्याई छ” उनले भने, “कोदो रोप्न सजिलो हुने र धान रोप्नका लागि जसरी कोदो रोप्न पर्याप्त पानी नचाहिने भएकाले गाउँमा रहेका २८ घरधुरीका सबैले कोदो रोप्दैछन् ।”
धान रोपेर सकाएर कोदो रोप्न थालेका गाउँलेले साउन अन्तिमसम्म कोदो रोपिसक्ने सिमरुङका किसान सञ्जिल गुरुङले भने । कोदो रोप्नलाई खासै पानी कुर्नु नपर्ने भएकाले असारमै धान रोपिसकेपछि कोदोमा व्यस्त भएको र यतिबेला गाउँमा करीब ६० प्रतिशत रोपाइँ भइसकेको स्थानीयवासी किसान रामशरण गुरुङले बताए।
त्यस्तै र्मस्याङदी गाउँपालिका–६ लामपाटागाउँकी शान्तिमाया तामाङ पनि कोदो रोप्दैमा दिनचर्चा बिताउँदै छन् । आफूसँगै गाउँलेसमेत कोदो रोपाइँमा व्यस्त रहेको उनको भनाइ छ । धान रोपिसकेर कोदो रोप्न थालेका छौँ । अहिले बिहान र बेलुका मात्र घरमा हुन्छौँ । दिउँसो बारीमा जान्छौँं । घरमा हुनेबेला पनि ध्यान भने बारीमै हुने गरेको किसान तामाङले बताए ।
जिल्लाका अधिकांश किसानले आफ्नो बारीमा कोदो रोपेर सकाएपछि पर्म तिर्नका लागि अरुको मेलासमेत जाने गर्दछन् । गाउँमा काम गर्ने किसानको कमी छ, त्यसैले हामी सबै मिलेर एकअर्काको काम गर्ने गरेको स्थानीयवासी किसान बताउँछन् ।
सुन्दरबजार नगरपालिका–११ तुरलुङकोटका किसानले समेत साउन १५ गतेबाट धमाधम कोदो रोप्न शुरु गरेको स्थानीय किसान सिजन दुराले बताए । रोपाइँका लागि कोदोको बीउ गोड्दै काम सकेर कोदो रोप्न थालेको उनको भनाइ छ । गत वर्ष यो समयमा आधाआधी रोपाइँ गरिसके पनि यस वर्ष धान रोप्नलाई ढिलो भएकाले कोदो रोपाइँ पनि ढिलो हुन पुगेको उनको भनाइ छ । यतिबेला गाउँका किसान कोदो रोप्नलाई भ्याइनभ्याई भइरहेको स्थानीय किसान बताएका छन् ।
कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले जिल्लाका किसान कोदो रोप्न व्यस्त भइरहेको बताए। उनले भने, “जिल्लाका किसानले कोदो रोप्न समयमै शुरु गरेको र हालसम्म ४० प्रतिशत कोदो रोपाइँ सकिएको छ ।
जिल्लाका दोर्दी, नाल्मा, भुलभूले, पसगाउँ, भोजे, गिलुङ, मालिङ, करापुलगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ । जिल्लाका किसानले ढल्लो, स्थानीय, ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीयवासी कोदोको बीउ रोप्ने गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार जिल्लामा सात हजार ५१८ हेक्टर क्षेत्रफलमा कोदो रोपाइँ हुँदै आएको छ । गत वर्ष सात हजार ५१५ दशमलव तीन मेट्रिकटन कोदो उत्पान भएको कृषि अर्थविज्ञ रेग्मीले बताए । उनका अनुसार किसानले साउनबाट शुरुआत गरेको र भदौ १५ गतेसम्म कोदो रोप्ने भएका छन् । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.