www.tandavnews.com
Fact ~ In search of truth

बाल मञ्च पोखराको घोषणापत्र : विद्यालयमा राजनीतिक संगठन खोलिए कारवाही (पूर्णपाठ सहित)

पाेखरा । 

पोखरा महानगरपालिकाको बालबालिका घोषणा पत्र सार्वजनिक गर्दै बालबालिका बहस : शृङ्खला-२ सम्पन्न भएको छ। महानगर बाल मञ्च ,पोखराको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वयमा बहस सम्पन्न भएकाे हाे ।

कार्यक्रमको पहिलो सत्रमा पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङसँग अन्तरक्रिया गरिएको थियो ।अन्तरक्रियामा बाल मञ्चकी अध्यक्ष एलिना श्रेष्ठले साथ दिएकी थिईन् भने बाल मञ्चकै सदस्य दिपेश अधिकारीले सत्रको सहजीकरण गरे।

Batas

उपप्रमुख गुरुङले महानगरपालिकाले बाल मैत्री घोषणाको लागि मात्रै घोषणा नभएर सबै ४३ वटा सूचकहरु हासिल गरेर मात्रै घोषणा गरिने आश्वासन दिईन। हाल बाल अन्तरक्रिया सक्रिय भएर बाल मैत्री अभियानमा लागेको बताउँदै बाल अन्तरक्रियाकी अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि महानगरपालिकाले आफूहरुलाई यस्तै साथ र सहयोग गर्नेमा आशावादी रहेको बताईन् ।

कार्यक्रम संयोजक आरोग्य मोहन काफ्लेले घाेषणा पत्र जारी भएकाे सुनाए । उनले भने ‘घनिभूत रुपमा गृहकार्य गरी प्रमुख र उपप्रमुख ज्यूबाट समेत सदर भई घोषणा पत्र जारी हुनु ऎतिहासिक उपलब्धी हाे । यसको कार्यान्वयनमा बाल मञ्च र महानगरपालिका प्रतिबद्व छ।’

कार्यक्रमको दोस्रो सत्रमा उप-प्रमुख मन्जुदेवी गुरुङ र घोषणा पत्र मस्यौदा समितीका सदस्यहरुको उपस्थितीमा “पोखरा महानगरपालिकाको बालबालिका घोषणा पत्र-२०७६, साथमा बालमैत्री सूचकहरुको संगालो” पनि सार्वजनिक गरियाे।

कार्यक्रममा बाल मञ्चका सदस्य निलकण्ठ त्रिपाठीले स्वागत मन्तव्य राखेका थिए भने सचिब सन्देश वि.क.ले सञ्चचालन गरेका थिए ।

“पोखरा महानगरपालिकाको बालबालिका घोषणा पत्र-२०७६” को पूर्णपाठ यस्तो छ

 

१. कार्यपालिका बैठकबाट निर्णय गरी आर्थिक वर्ष २०७६/७७ लाई बालबालिका वर्षको रुपमा घोषणा गर्ने,

२.पोखरा महानगरपालिका भित्र रहेका बाल श्रमिक र सडक बालबालिकालाई आर्थिक वर्ष २०७६/७७ मा व्यस्थापन र पुन:स्थापना गर्ने कार्यलाई तीब्रता दिने ,

३.बाल मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि तथा राष्ट्रिय रणनीति-२०६८मा भएको प्रावधान बमोजिम विगतमा गठन भएको बाल मैत्री स्थानिय शासन नगर समिती र बाल मैत्री स्थानीय शासन वडा समितीको नयाँ संरचना अनुसार कार्यविधिको माध्यमबाट गठन/पुन:गठन गर्ने,

४.यसै आर्थिक वर्षको सुरुवातमा सम्पूर्ण कार्यपालिका सदस्यहरुलाई बाल मैत्री एवं बालअधिकार सम्बन्धी गोष्ठी महानगर बाल मंच,पोखरा र महानगरपालिकाको संयुक्त आयोजनामा गर्ने,

५.”विधालय शान्ती क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका-२०६९”मा लिईएका उदेश्य र बालबालिका सम्बन्धि ऎन,२०७५ को परिच्छेद ८;धारा ६६;२ “छ”मा “राजनीतिक प्रयोजनका लागि संगठित गर्ने गरेमा बालबालिका विरुद्ध हिंसा गरेको मानिनेछ” उल्लेख भएकाले यी दुवै प्रावधान विपरित विधालयमा बालबालिकालाई प्रयोग गरी गठन गरिएका राजनितिक संगठनहरुलाई शिक्षा महाशाखा संगको समन्वयमा विधालयहरुमा परिपत्र गरी विधमान कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने,

६.यसै आर्थिक वर्षमा “बाल मैत्री स्थानिय निकाय घोषणा कार्यविधी-२०६९”मा भएको प्रावधान र महानगरपालिकाले बनाउने कार्यविधिलाई समेत आधार मानी पोखरा महानगरपालिकाको बालबालिकाको स्थिती पत्र तयार गर्ने कार्य यथासिघ्र अघी बढाउने,

७.पोखरामा रहेका यातायत व्यवसायी तथा सम्बन्धित संघ,संस्थाहरुको समन्वयमा यातायत क्षेत्रलाई बाल मैत्री बनाउन पहल गर्ने र बाल श्रम मुक्त सार्वजनिक यातायत अभियान संचालन गर्ने,

८.जोखिममा/हिंसामा परेका बालबालिकालाई सहायता प्रदान गर्न र बालबालिकाको समस्या/गुनासालाई तत्काल समाधान होस् भन्ने मान्यताका साथ हाल महानगरपालिकाले संचालन गरेको महिला सहायता कक्षलाई थप सुदृढीकरण बाल हेल्पलाईन डेक्स स्थापना गर्ने,

९. पोखरा महानगरपालिकाले बाल मैत्री महानगर घोषणा गर्न कार्यविधि बनाउने र बाल मैत्री महानगर घोषणा अभियानलाई तीब्रता दिने,

१०. बालबालिकाको क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा बिनियोजित नगरस्तरीय र वडास्तरीय बजेटलाई प्रभावकारी कार्यान्वयन गर्ने/गराउने ।

(द्रस्टव्य: महानगर बाल मंच,पोखराद्वारा २०७६/०४/०४ गते शनिबारका दिन आयोजित बालबालिका बहस,शृंखला-१ को क्रममा बाल मंचकै प्रस्ताव बमोजिम पोखरा महानगरपालिकाको बालबालिका क्षेत्र सम्बन्धी रणनीति तय गर्न बाल मंच,सम्बन्धित सरोकारवाला र महानगरका प्रतिनिधि रहने गरी गठित “घोषणा पत्र मस्यौदा समिती”ले घोषणा पत्रको अन्तिम मस्यौदा तयार पारी पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी. ज्यू,उपप्रमुख मन्जुदेवी गुरुङबाट सदर भई मिति २०७६/०४/३२ गते बालबालिका बहस,शृंखला-२ का क्रममा यो घोषणा पत्र जारी गरिएको छ।बाल मंचकी अध्यक्ष एलिना श्रेष्ठको संयोजकत्वमा गठन भएको समितीको सदस्यको रुपमा महानगरको तर्फबाट सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा,कार्यपालिका सदस्यद्वय मित्रलाल बराल र यसोदा भटृराई तथा सरोकारवालाको तर्फबाट बाल मंच प्रवक्ता आरोग्य मोहन काफ्ले,पोखरा उधोग वाणिज्य संघ बाल श्रम न्यूनिकरण कार्यक्रमकी संयोजक प्रिति पाण्डे र बाल हितकारी परियोजना नेपालकी कार्यक्रम संयोजक निमा गुरुङ छिन्।)

आरोग्य मोहन काफ्ले
प्रवक्ता
महानगर बाल मंच,पोखरा
मिति:२०७६/०४/३२

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.