www.tandavnews.com
Fact ~ In search of truth

सुनको मुर्ति भन्दै लाखौ ठगी गर्ने पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा सुनको मुर्ती भनी लाखौँ ठगी गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको विभिन्न स्थानमा सुनबाट बनेको जस्तै देखिने बुद्धको मुर्ति १३ लाखमा बिक्री गरी फरार भएका उनीहरुलाई पक्राउ गरेको हो ।

दोलखा जिल्ला घर भई काठमाण्डौ–९ बस्दै आएका ५२ बर्षीय नवराज पाण्डे भनिने रामराज सिवाकोटीले बोकेको झोलामा खोजतलास गर्दा झोलाभित्र राखिएको सुनको जस्तो देखिने पहेलो धातुको बुद्धको मुर्ति फेला पारी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले बताए ।

सिवाकोटी सहित गोर्खा जिल्ला घर भई पोखरा–८ बस्दै आएका ३३ बर्षीय रमेश श्रेष्ठ भनिने देव कुमार श्रेष्ठ र रामेछाप घर भई काठमाण्डौ बस्दै आएका ३६ बर्षीय देवराज प्रधान भनिने बसन्त बहादुर श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ६.१ केजी सुनजस्तो देखिने पहेलो धातुको बुद्धको मुर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन, सुन जस्तै देखिने पहेलो धुलो, २ थान क्यासिनो कार्ड, भारतीय रासन कार्ड, भारतीय राजदुतवास काठमाण्डौ नेपाल लेखिएको कार्ड र विभिन्न बैंकहरुका चेक बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुले पोखरा ८ बस्ने पाराश्वर विश्वकर्मालाई सुनबाट बनेको प्राचीन मुर्ति हो भन्दै १३ लाख ठगी गरेको अनुसन्धानबाट खुलेको कार्कीले जनाए । ठगी गरेको उक्त पैसाले उनीहरु क्यासिनो जाने गरेको कार्कीले बताए ।

यस्तै कास्की प्रहरीले नियमबिपरित होटल संचालन गर्ने लोकराज अधिकारीलाई समेत पक्राउ गरेको छ ।

होटल संचालकले होटलमा कुनै पनि किसिमको अभिलेख नराखेको र नाबालिकालाई ८ दिनसम्म होटलमा राख्दा समेत प्रहरीलाई खबर नगरेको कारण पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

असार ३० गते विराटनगर ७ घर भई उदयपुर चौदण्डीगढी ७ बस्ने राकेश कुमार कनोडियालाई १४ बर्षीय बालिकालाई उक्त होटलमा बन्धक बनाई जबरजस्तीकरण गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.