www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा नगरपालिकामा

स्याङजा ।

स्याङ्जाको गल्याङ– ३ बल्पुकमा अवस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र(अस्पताल)को सेवा प्रभावकारी बनाउने जिम्मा नगरपालिकाले लिएको छ ।

गल्याङ तथा आसपासका बासिन्दा उपचारका लागि तानसेन, बुटवल तथा पोखरा जानुपर्ने अवस्था अन्त्य गर्न सञ्चालन गरिएको उक्त स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा गल्याङ नगरपालिकाले लिएको हो ।

झण्डै १० वर्षअघि स्थानीयवासीबाट २५ लाख चन्दा सङ्कलन, बुटवल पावर कम्पनीबाट ४० लाख सहयोग, नेपाल सरकारबाट पटकपटकमा तीन करोड र भारतीय सरकारबाट पाँच करोड गरी करीब आठ करोड ६५ लाखको लागतमा स्वास्थ्य केन्द्र निर्माण गरिएको अध्यक्ष लालगोपाल अर्यालले बताए।

“ खरिद गरिएको पन्ध्र रोपनी जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएका थियौँ”, उनले भने, “स्वास्थ्य केन्द्रबाट अझै बढी सेवा दिनुपर्ने र स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने आवश्यकता महशुस गरी यो संस्था र नगरपालिकाको संयुक्त सहकार्यमा सेवा सञ्चालन गर्न लागिएको हो ।”

पन्ध्र श्ययाको अस्पतालअनुमति पाएको यस केन्द्रको आवश्यक मापदण्ड पूरा गरी श्यया थप गरिने र सेवालाई प्रभावकारी तवरले सञ्चालन गरिने नगरप्रमुख भूपराज अधिकारीले बताए ।यो केन्द्रलाई गल्याङ सामुदायिक नगर अस्पतालका रुपमा विकास गरी यहीँमार्फत स्वास्थ्य बीमासहितको सबै प्रकारका उपचार सेवा सञ्चालन गरिने भएकाले उपचारकै लागि अन्यत्र जानुपर्ने बाध्यता हटेर जाने उनले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.