www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–म्याग्दी–मुस्ताङ सडक दैनिक ८ घण्टा बन्द

संजय रेग्मी,
पर्वत/ताण्डव न्यूज ।

पर्वत र बागलुङ जिल्ला जोड्ने गरी निर्माण हुन लागेको नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलका कारण आगामी ९ दिन पोखरा म्याग्दी मुस्ताङ सडक दैनिक ८ घण्टा बन्द भएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङ र हिमाली जिल्ला म्याग्दीलाई जोड्ने एक मात्र सडक पोखरा बागलुङ सडक खण्ड बिहीबार बिहानदेखि बन्द हुन सुरु भएको हो । पुलको निर्माणको क्रममा जग खन्ने काम सुरु गर्न लागिएको र उक्त जग तथा पुल पोखरा बागलुङ सडक खण्डको सिधा माथि पर्ने भएकोले जोखिमबाट बचाउनको लागि सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

जग निर्माण कार्यले बागलुङबाट पर्वत जिल्ला हुँदै बाहिरिने र भित्रिने सवारीलाई असर नगर्ने भए पनि म्याग्दी र मुस्ताङ जिल्ला आवतजावत सवारीहरूलाई भने मर्का पर्ने भएको छ । सडक खण्ड बिहान ७ बजेदेखि ९ बजेसम्म २ घण्टा र बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ६ घण्टा गरी ८ घण्टा बन्द हुने छ ।

जग खन्ने प्रयोजनको लागि ९ दिनसम्म कुस्मा नगरपालिका १ पाङको मालढुंगादेखि पर्वतकै जलजला गाउँपालिकाको डमुवाखोलासम्मको सडक अवरुद्ध रहने छ। दैनिक घण्टौँसम्म सडक अवरुद्ध हुँदा यात्रीहरूलाई सास्ती हुने भएकोले निर्माणको काम गरेको कम्पनीलाई ढिला नहुने गरी धमाधम काम गर्न भनिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

सडक बन्द हुँदा म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारी साधनहरूलाई सकस हुने छ। वर्षा रोकिनु र चाडपर्वहरूको सुरुवात भइसकेकोले मुस्ताङ जिल्ला आउजाउ गर्ने तीर्थयात्री तथा पर्यटकहरू सडकका कारण बढी मर्कामा पर्ने छन् । सडक बन्द गरिँदा पर्यटन क्षेत्रमा पनि उस्तै असर पर्ने भएकोले पुलको जग निर्माणको छिटो सक्ने गरी काम हुने प्रहरी निरीक्षक रायमाझीको भनाई छ ।

९ दिनको अवधिमा म्याग्दी र मुस्ताङबाट पर्वत हुँदै अन्य जिल्लामा आउजाउ गर्नको लागि सिधा बाटो अवरुद्ध भए पनि केही घुमाउरो भए पनि वैकल्पिक बाटोको प्रयोग गर्न भने सकिने छ । मालढुङ्गा, जलजला हुँदै बेनी, म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारी साधनहरू बागलुङ बजार हुँदै म्याग्दीको रत्नेचौर निस्किएर बेनी बजार आउजाउ गर्न सक्नेछन् ।

अदुवावारिदेखि बाङ्गेचौर जोड्ने पुल भने नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हुँदैछ । यसको लम्बाई ५ सय ६७ मिटरको हुनेछ भने उचाइ १ सय ३८ मिटर बन्नेछ । पुल निर्माणको लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.