www.tandavnews.com
Fact ~ In search of truth

तीज गीतको नाममा रत्यौली

पाेखरा
ताण्डव न्यूज । 

तुलसी प्रवास
लोक अनुसन्धानकर्ता

तीज गीतलाई हामी तीजे गित भन्छौ । विशेष गरि नारीहरुको पर्व भनेर चिनिन्छ तीज । दिदीबहिनी,महिला अर्थात नारीहरुले एक आपसमा सुख दुख, पीडा, व्यथाका कुरा साटासाट गर्ने क्रममातीजको जन्म भएको मानिन्छ।

जसरी पहिलाको जमानामा विवाह गरेर छोरीचेली घरमा गईसकेपछि उनीहरुलाई तीजमा लिन जाने, माइत गइसकेपछि गाउँ सबै महिला जम्मा भएर आफ्ना कथा व्यथाका गीत गाउनेगर्थे । नारीले गाएका यस्ता गीतहरुलाई तीजे गीत भन्ने गरिन्थ्यो । तीज गीत एउटा पर्व गीत हो । विस्तारै प्रविधिको विकासक्रमसँगै विभिन्न स्टुडियोमा रेकर्ड गर्ने, युट्युवहरुमा गीतहरु अहिले आईरहेका छन् ।

पछिल्लो समय कतिपय गीतहरु तीजसँग सम्बन्धित् छैनन् । तीजको मर्म, संस्कृतिसँग सम्बन्धित् छैनन् । यस्ता गीतले विकृति निम्त्याएको छ । तीजमा माया पिरतीका गीत गाईदैन।तीज गीत भनेको दिदी भाईसँग सम्बन्धित हुनुप¥यो, आमा र छोरीसँग सम्बन्धित हुनुप¥यो, माइतीसँग र उनीहरुको दुखसुखसँग सम्बन्धित हुनुपर्छ । यस्ता गीतले तीज पर्व संरक्षण गर्छ ।

पछिल्लो समय आएका माया प्रेमकागीत तीजको नाममा निकाले पनि यस्ता गीतलाई म तीज गीत मान्दिन ।वास्तवमा तीजको गीत छोरा मान्छेले गाउने नै होइन तर छोरा मान्छेले नै तीज गीत गायो भने पनि दिदीबहिनीसँग, बाबु छोरीसँगको संवाद सम्बन्धित हुनुपर्छ । अहिले तीजको नाममा रत्यौली गीतहरु, झ्याउरे गीतहरु आएका छन् यसले तीजको मर्म हराउँदै गएको देखिन्छ । तीजको मर्म हराउनु नै विकृति हो ।

सबै प्रकारका गीतहरुको आ–आफ्नै महत्व छ । एउटा गीतले अर्को पर्वको गीतलाई अतिक्रमण गर्न पाइँदैन ।सबै गीत नराम्रा पनि हैनन तर केही कलाकारले तीजको मर्मअनुसारको गीत पनि निकालिरहेका छन् तर कम मात्रलेतीजको मर्मलाई बुझेका छन् ।छिटो लोकप्रिय हुनेचाहानाले आधुनिकताको बहानामा तीज गीतमा विकृति भित्रिरहेका छन् ।

झण्डै १० वर्षअगाडि देखि तीज गीत बिग्रिदै आइरहेको छ । कलाकारले संस्कृतिलाई बुझेर, अध्ययन गरेर गीत निकाल्नुपर्छ ।विकृति ल्याउने गीतहरुलाई हामीले बहिस्कार गर्नुपर्छ । हाम्रोमा गीतहरुको पनि सेन्सर बोर्डको आवश्यता रहेको छ । गीतहरु प्रसारण गर्न लायक छ कि छैनन सेन्सर गरेर मात्र सार्वजनिक नगरेसम्म विकृति हट्दैनन् ।

 

रमेश विजी
वरिष्ठ उपाध्यक्ष
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल

बीचको केही समय तीज गीत विषयवस्तु र ट्रयाक भन्दा बाहिर गइरहेको थियो ।तर केही वर्षदेखि केहीहद सम्म सुधारिएको पाइएको छ । तीज गीत सुध्रिएको पाएको छु । फाट्टफुट्ट गीतहरु दोहोरो अर्थ लाग्ने, अश्शिलता बोकेको गीतहरु पनि नआएका होइनन् । यस्ता गीतहरुलाई हामीले हटाउन पनि लगायौँ।

पछिल्लो समय तीज गीतमा पुरुषको बाहुल्यता भयो भन्ने छ ।यसमा महिलाहरु ओझेलमा परेको र पुरुषले तीज गीतलाई अतिक्रमण गरेको देखिन्छ । तर महिलाहरुले पनि आफूले गीत तयार नगर्ने, पुरुषहरुलाई गीत तयार गर्न लगाउने, पुरुषसँग नगाउँदा आफूहरु अपुरो भाको जस्तो मान्ने प्रवृतिले पनि पुरुषहरुको सहभागिता बढी देखिन्छ ।

व्यवसायिकताको हिसाबले कार्यक्रमहरुमा जाँदा तीजका बेला प्रस्तुति गर्नलाई म्याटर नहुने हुनाले पनि पुरुषहरुले तीज गीत निकालिरहेका हुन् कि । तर संस्कृतिको हिसाबले महिलाहरु नै यसको प्रथम पक्ष भएर प्रस्तुत भए राम्रो हुन्छ । पुरुषले गाएपनि दिदीबहिनी, बाबुछोरीसँग सम्बन्धित भएर गाए राम्रो हो तर पछिल्लो समय आएका मायाप्रेम, रत्यौली, प्यारोडी बनाएर गाएको गीतहरु शोभनीय छैन् ।

व्यवसायिकताको होडले ठ्याक्कै तीजको रंग दिने गीत बजारमा कम मात्रामा आएको पाइन्छ ।पहिला हामी नारीको दुखवेदनाका गीतलाई तीज गीत मान्थ्यौ तर समय परिवर्तन भएको छ । अहिले छोरी बुहारी होइन सासुहरु पीडामा पर्न थालेका छन्। छोरी बुहारी हकअधिकारका लागि लड्न थाले । त्यसैले अब पनि रोना धोनाको गीतै गाउन पर्छ भन्ने छैन। तर तीजको मर्म भुल्नु भएन ।

संगीतमा नैतिकता भन्दा ठूलो नियम हुँदैन। कलाकार आफै नैतिकवान हुनुप¥यो । पैसाका लागि आफ्नो शिष्टता,नैतिकता, समाजको मूल्यमान्यता,मर्यादालाई बेच्नु भएन। युट्युवमा भ्युअरका लागि मात्र गीत निकाल्ने हो भने त अश्लिता नै बिक्छ यो समाजमा ।

विकृतिलाई हटाउन सर्जक नै सजक हुनुपर्छ । । विषयवस्तु, समय सान्दर्भिक र संस्कृति जोगाउने खालका गीतमा ध्यान दिन लोक दोहोरी प्रतिष्ठान नेपालले कलाकारलाई मोटिभ गर्ने काम पनि गरिरहेको छ ।

 

Batas

हरिदेवी कोइराला
प्राज्ञ, गायिका

तीज भन्ने बित्तिकै चेलीबेटीको पर्व हो । माइती, दाजुभाई, बाबाआमासँगको, समसामायिक घटना, महिलाको मनको व्यथाका कुरालाई गीतमा उतार्ने, नाचगान गर्ने तीजको मौलिक तथ्य हो । तीजमा चेलीबेटी जसरी पनि माइत जाने,माइतीले पनि चेलीबेटीलाई मिठा खानेकुरा खुवाउने चलन र तीज एउटा संस्कृति हो ।

लोकगीत मध्ये तीज गीत एउटा पर्व गीत हो । गीतको विद्याहरु फरक छ । गीतको आफ्नो छुट्टै मौलिकता, सान्दर्भिकता र महत्व छ । तीजको आफ्नो छुट्टै मौलिकता छ । यो परिवारमा गाइने गीत हो । यसमा शिष्टता हुन्छ। तीज गीतमा माया प्रेम, अश्लिता हुनुहुँदैन ।

अहिले जस्तो गीत पनि तीजको गीत भनेर निस्क्यिो यसले भ्रम फैलाएको छ । तीजको नाममा रत्यौली, माया प्रेम, लोकदोहोरी जस्ता गीत निस्किरहेछ । यदि यस्तै रहने हो भने पछिल्लो पुस्ताले संस्कृति भुल्नेछन् । हामीले संस्कृतिलाई पछ्यायौँ र मौलिकतालाई आत्मसाथ ग¥यौँ भने संस्कृतिले निरन्तरता पाउनेछ ।

प्रजापति पराजुली
लोकदोहोरी संरक्षक

नेपाली नारीको महान पर्व हरितालिका तीज वेदनाका, घटनाका, अधिकारका, चेतनाका कुराहरु राखेर गाइने गीत, सूचना प्रवाह गर्ने गरि गाइन् पर्ने गीत हो । अहिले रत्यौलीलाई पनि तीज, रङ्ग न ढङ्ग जसमार कुनै तीजको रस पनि छैन, भाव, अर्थ केही छैन खाली क्षणिक आनन्द र रमाइलोका लागि भनेर बनाइएका गीतले अहिले निकै सनसनीता फैलाएको छ । यस्ता गीतले विकृति विसङगती ल्याएको छ ।

गीतले एकथोक, भावले एकथोक मागेको हुन्छ, भिडियोमा अर्को थोक देखाउँछन्।तीज गीत वास्तवमा पुरुषले गाउने होइन यदि गाए पनि उत्ताउलो नभई तीजको भाव बोकेका गीत गाउनुपर्छ ।

तीजका गीतमा भित्रिएका विकृति व्यक्तिले रोक्ने होइन यो राज्यले नै यसमा ध्यान दिनुपर्छ र रोक्नुपर्छ । राज्यले नियम कानुन बनाई राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाललाई अधिकार दिए विकृति रोकिन्छ । हामीले माग गरिराखेका छौ तर राज्यले अधिकार दिएको छैन।

राष्ट्रिय लोक भजनचुड्का संरक्षक प्रतिष्ठान नेपालको म अध्यक्ष छु, मैले पटकपटक गीतमा भित्रिएका विकृतिको विषयमा भनिराखेको छु । राज्यले मलाई अधिकार देओस म परिवारमा बसेर हेर्न लायक गीतहरु मात्र बजारमा सार्वजनिक गर्छु ।तर हामीसँग केही अधिकार छैन् । जस्ता गीत आएपनि सल्लाह दिन बाहेक केही गर्नै मिल्दैन।

मैले यस वर्ष झन् बिग्रेका, विकृतीका गीत आएको पाए । संगीत बिग्रिन लाग्यो, स्रष्टा मर्न लागिसके । तीज गीत मात्रै हैन संगीतमा विकृती धेरैै छ ।

प्रस्तुति : उमा विक

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.