www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश नं २ को राजधानी र नामकरणमा सकस

काठमाडौं ।

 

प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा अन्यौल बढ्दै गएको छ । प्रदेशको नाम के हुने भन्ने विषयको बहसले अहिले जनकपुरसहित पूरा प्रदेश नै तातेको छ । यस विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ भने सामाजिक सञ्जालमा पक्षविपक्षमा दोहोरी शुरु भएको छ ।

बिहीबार प्रदेशसभा सचिवालयमा दलैपिच्छे राजधानी र प्रदेशको नामबारे फरकफरक प्रस्ताव दर्ता भएपछि थप अन्यौल देखिएको हो । यतिमात्रै नभई केही दलका सांसदहरुले पनि पार्टीमा विद्रोह गर्दै छुट्टै प्रस्ताव गर्दा गराएका छन् ।

Batas

त्यसैले प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने विषय लम्बिने भएको छ । दलहरुले प्रदेशको नाम र स्थायी राजधानीबारे आफ्नो प्रदेशसभामा दर्ता गराएका प्रस्तावउपर निर्णयमा लैजाने प्रक्रियाबारे छलफल गर्न शनिबार प्रदेशसभा सचिवालयले बैठक बोलाएको थियो तर बैठक बस्दै नबसी स्थगित भयो ।

प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुसवाहाका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको हो ।यसरी अब अर्को बैठक कहिले बस्नेबारे टुङ्गो नहुँदा प्रक्रिया लम्बिएको छ ।प्रदेश २ को नाम र राजधानीको विषयमा प्रदेशसभाले आह्वान गरेअनुसार संसदीय दलहरुले आ–आफ्नो तर्फबाट नामकरणको प्रस्ताव दर्ता गराउँदा सत्तारुढ दल समाजवादी पार्टी र विपक्षी दल काँग्रेसभित्र प्रदेशको नामका विषयमा मतभेद देखिएको छ ।

सबै दलको आफ्नै एजेन्डा हुँदाहुँदै पनि सत्तापक्ष र विपक्षी दलमा देखिएको फरक मतले गर्दा आउने दिनमा प्रदेशको नाम र राजधानीको लागि पार्टीभित्रै आन्तरिक विवाद सिर्जना हुन पुगेको हो । काँग्रेसका केही सांसदहरूले नै प्रदेशको नाम मध्य मधेश हुनुपर्ने माग गर्दै प्रस्ताव गर्दा गराएका छन् ।

सत्तारुढ दलका केही सांसदहरूले पनि पार्टीको लाइनविपरीत राजधानी वीरगञ्ज हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । छुट्टै प्रस्ताव दर्ता गराउनेमा काँग्रेसका चार र सत्तारुढ समाजवादीका सात जना प्रदेशसभा सदस्य छन् ।

नेकपामा समेत मधेश प्रदेशका पक्षधर छन् तर नेकपाले जानकी प्रदेश र जनकपुर, पूरै धनुषा राजधानीको लागि प्रस्ताव दर्ता गराउँदा कुनै पनि प्रदेशसभा सदस्यले हालसम्म औपचारिक रूपमा असन्तुष्टि बाहिर सार्वजनिक गरेका छैनन् ।प्रदेशसभामा रहेका नेकपा, काङ्ग्रेस, समाजवादी पार्टी, राजपा नेपालले फरकफरक प्रस्ताव दर्ता गराएपछि प्रदेशको नाम र राजधानीको विवाद अझ बल्झिने बुद्धिजीवीले टिप्पणी गरेका छन् ।

नाम र राजधानीको सवालमा दलहरूले गरेको प्रस्ताव अदूरदर्शी रहेको समेत उनीहरुको टिप्पणी छ । राजनीतिक विश्लेषक प्रा .डा .सुरेन्द्र लाभले राजनीतिक अदूरदर्शीताका कारण दलहरूले प्रदेश २ को ऐतिहासिक र सांस्कृतिक महत्वको हिसाबले नाम प्रस्ताव गर्न नसकेको बताए ।

बुद्धिजीवी रोशन जनकपुरीले संसदीय दलहरूले गरेको प्रस्तावको कारण दीर्घकालसम्मका लागि विवाद रहिरहने टिप्पणी गरे। उनले आउने दिनमा भारतको विहारबाट झारखण्डजस्तै प्रदेश २ मा समेत सांस्कृतिक र पहिचानको आन्दोलन हुनसक्ने खतरा औँल्याए।

रोशन जनकपुरीले ऐतिहासिक। सांस्कृतिक तथा राजनीतिक परिदृश्यको हिसाबले ‘मिथिला भोजपुरा मधेश’ नाम नै सबैभन्दा उपयुक्त हुने भए पनि त्यसमा राजनीतिक दलहरू चुकेको विचार व्यक्त गरे ।

राजनीतिक विश्लेषकले दलहरू आ–आफ्नै अडानमा रहिरहे हाल प्रदेशसभामा दर्ता गराइएका प्रस्तावमध्ये कुनै प्रस्ताव पारित हुने सम्भावना नरहेको पनि बताएका छन् । उनीहरूले प्रदेशसभामा सहमति भएर कुनै नाम पारित भए पनि पछिसम्म विवाद रहिरहन सक्ने औँल्याएका छन् ।

प्रदेश २ को प्रदेशसभामा कूल १०७ सांसद छन् । जसमध्ये सत्तारुढ समाजवादी पार्टीको ३०, राष्ट्रिय जनता पार्टीको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, र काङ्ग्रेसका १९ जना सांसद छन् भने सङ्घीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक पर्छ । जसअनुसार दुई तिहाइ बहुमतका लागि ७२ जना सांसदको समर्थन आवश्यक रहेको छ । तसर्थ प्रदेशको नामकरण र स्थायी राजधानी तोक्नका लागि कसैसँग दुई तिहाइ बहुमत नरहेकोले एक अर्को दलसँग सहमति गर्नुपर्ने र आआफ्नो अडानबाट केही पछि हट्नुपर्ने देखिन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.