www.tandavnews.com
Fact ~ In search of truth

उपाध्यक्षको सवारीसाधन खरीद गर्ने बजेटले एम्बुलेन्स

काभ्रपलाञ्चोक ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लागेका छन् । उनको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ ।

“यो हप्ता दुई वटा एम्बुलेन्स गाउँपालिकामा आइपुग्ने प्रक्रियामा छ”, उपाध्यक्ष बर्तौलाले भने । उनलाई गाडी खरीदका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा २६ लाख रकम छुट्याएको थियो । उनले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखि नै पालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेका छन् ।

भौगोलिकताले विकट एवं पहाडी भू–भाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरीद गर्न लगाएको उपाध्यक्ष बर्तौलाले बताए । उनले भने, “म जनताको सेवा गर्न निर्वाचित भएकी हुँ, म जहाँ पनि हिँडेर पुग्न सक्छु तर गर्भवती र बालबालिका तथा वृद्धवृद्धाका लागि समयमै उपचार होस् भन्ने चाहेर आफ्नो गाडीलाई छुट्याइएको रकमबाट एम्बुलेन्स खरीद गर्न भनेकी हुँ ।”

दुई वटा एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने उपाध्यक्ष बर्तौलाले जानकारी दिए । उनले भने, “मैले निर्वाचित भएदेखि नै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु ।”

उपाध्यक्ष बर्तौलाले आफूलाई आउने इन्धन खर्चलाई पनि सामाजिक सेवामै खर्चिएका छन् । उनलाई वार्षिकरुपमा इन्धनबापत आउने तीन लाख टुहरा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेका हुन् । हालसम्म १४ विद्यालयका ४८ जना टुहुरा तथा अपाङ्गता भएका बालबालिकालाई उनीहरुको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले जनही छ हजार २५० सहयोग गरेका छन् ।

गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकामा अवस्थित ६९ वटा सामुदायिक विद्यालयबाट थप टुहुरा तथा अपाङ्गता भएका बालबालिकाको तथ्याङ्क उपलब्ध भयो भने ती बालबालिकालाई क्रमैसँग सहयोग उपलब्ध गराइने उपाध्यक्ष बर्तौलाले बताए ।

गाउँपालिकाको न्यायिक समिति अध्यक्षलगायत विभिन्न नौ वटा समितिको संयोजकका रुपमा रहेएकी गाउँपालिका उपाध्यक्ष वर्तौलाले कुनै पनि बैठकका भत्तासमेत लिदैनन् । यसअघि गत असारमा पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरेका थियो ।

गत पुसमा सम्पन्न नपा कार्यपालिका बैठकले उक्त निर्णय गरेपछि कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकल खरीदका लागि छुट्याइएको बजेटले दमकल खरीद गरिएको थियो । काभ्रेपलाञ्चोकमा छ वटा नगरपालिका र सात वटा गाउँपालिका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.