www.tandavnews.com
Fact ~ In search of truth

पर्वत–बेनी जोड्ने वैकल्पिक मार्गमा दुर्घटनाको जोखिम

बागलुङ ।

भूपि शेरचन राजमार्गको पर्वत–बेनी सडक दैनिक साढे आठ घण्टा बन्द भएपछिको वैकल्पिक मार्ग ठूला सवारीसाधनका लागि जोखिमपूर्ण देखिएको छ ।

बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न यही भदौ ५ गतेदेखि बिहान ७ः०० देखि ९ः०० र १०ः०० बजेदेखि साढे ४ः०० बजेसम्म पर्वत–बेनी सडक बन्द छ ।

उक्त अवधिमा वैकल्पिक मार्गका रुपमा पर्वतको मालढुङ्गा–बागलुङबजार–म्याग्दीको रत्नेचौर हुँदै बेनीबजारको रुट प्रयोग गर्ने गरिएको छ । तर, उक्त मार्गको बागलुङ बजारदेखि रत्नेचौरसम्मको सडक साँघुरो भएका कारण ठूला सवारीसाधन आवतजावतमा समस्या र सकस भएको सवारी चालक र यात्रु बताउँछन् ।

बागलुङ रत्नेचौरसम्म जम्मा चार मिटर सडक छ भने रत्नेचौरदेखि म्याग्दी बेनी पुग्ने १० किलोमिटर सडक आठ मिटरको छ । साँघुरो सडकमा ठूला सवारी हिँड्दा दोहोरो सवारी जमघट भए पार गर्न नसक्ने र दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक महेन्द्र रानाभाटले बताए ।

यही भदौ ७ गते साँघुरो सडकका कारण रत्नेचौरमा ना७ख ९३४४ नंको ट्रक नालीमा खसेको थियो भने सोही दिननै बेनी–बागलुङ जोड्ने कालिका पिउने पानी कम्पनी नजिकैको पुलमा महेन्द्रनगर जाने ना४ख ८१२७ नंको बस पार गर्न निकै सकस भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तो घटना पछिल्ला दिनमा बढ्दै गएका प्रत्यक्षदर्शी बताउँछन् ।

सडक साँघुरो भएका कारण दुर्घटना र जाम हुने समस्या बढेपछि ठूला सवारीसाधनलाई वैकल्पिक मार्गको बाटो जान मालढुङ्गाबाटै रोक लगाइएको प्रमुख रानाभाटले बताए । “साना सवारी चल्ने सडकमा ठूला सवारीसाधन जाँदा निकै समस्या भएको छ”, रानाभाटले भने, “मालवाहक ट्रकलाई सडक खुलेपछि सोही मार्गबाट पठाएका छौँ भने साना सवारीलाई वैकल्पिक मार्गको बाटो पठाइएको छ ।”

यही भदौ ५ देखि १३ गतेसम्म पुल निर्माणकार्यलाई गति दिने गरी पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको डमुवाखोलासम्मको सडक बन्द गरिएको छ ।सो खण्डमा काम गर्दा सडक बाधक बनेका कारण बागलुङ, पर्वत र म्याग्दीका जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्व्य गरिदिन हिमशिखर कन्ट्रक्सनले आग्रह गरेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.