www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस बैठक :दोस्रो चरणको जागरण अभियानबारे छलफल हुने

काठमाडौं ।

नेपाली काँग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आज बोलाइएको हो ।

Batas

यद्यपि बुधबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । बैठकमा पार्टीको दोस्रो चरणको जागरण अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनलगायत विषयमा छलफल भएको थियो ।

काँग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भएर जेठ २५ मा सम्पन्न भएको थियो ।यसैगरी दोस्रो चरणको जागरण अभियान यही भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने पार्टी कार्यालयले जनाएको छ ।

पार्टीले दोस्रो चरणको जागरण अभियानअघि नै नेपालको संविधान र काँग्रेसको संशोधित विधानबमोजिम सम्पूर्ण संरचना निर्माण तथा नेपाल विद्यार्थी सङ्घलगायत भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिइसक्ने जनाएको थियो ।

गत असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका १४ कार्यसूची प्रस्तुत गरेका थिए । त्यसमध्ये हालसम्म अधिकांश विषयमा बैठकले निर्णय गरिसकेको र अब बाँकी विषयमा बैठकमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

कार्यसूचीमा निर्णय हुन बाँकी रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भातृ सङ्घहरुका सम्बन्धी, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिनेलगायत विषयमा आजको बैठकमा छलफल हुनेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.