
पोखरा ।
पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रगती अहिलेसम्म ४५ प्रतिशत भइसकेको छ । करिब २२ अर्ब रुपैयाँको लागतमा निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल नेपाल सरकारले ग्लोबल टेण्डर गरी सन् २०१४ मे १२ मा चिनियाँ निर्माण कम्पनी सिएएमसिईलाई ठेक्का दिएको थियो । सम्झौता अनुसार सन् २०२१ जुलाई १० मा सम्पन्न गर्नुपर्ने भएपनि यो भन्दा छ महिना अगावै सम्पन्न हुने आयोजना प्रमुख विनेक मुनान्कर्मीले जानकारी दिए ।
‘हामी सोचेको भन्दा धेरै नै अगाडि कामको प्रगति सक्दैछौँ त्यसैले सम्झौता समयभन्दा अगावै पोखरा विमानस्थल जहाज उडाउन तयार हुन्छ,’ मुनान्कर्मीले भने, ‘अहिलेसम्म सबै गरेर ४५ प्रतिशत प्रगती भएको छ ।’ जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।
डम्पीङ साइड नहटाए जोखिम नै जोखिम
बुधबार पोखरा विमानस्थलको निरिक्षणको क्रममा आएका पर्यटन मन्त्री योगेश भट्टराईलाई राष्ट्रिय गौरवका आयोजनाका आयोजना निर्देशक प्रदिप अधिकारीले भने, ‘पोखरा महानगरले ड्याम्पीङ साइड नहटाए हामीले यो विमानस्थलबाट जहाज उँडाउन सक्दैनौँ । महानगरलाई हामीले त्यो हटाउन भनेका पनि हौँ । महानगरले तपाइँहरुले काम गर्नु न हटाउँछौँ भन्यो अहिलेसम्म केहि सुर गरेन ।’ उनले अरु आयोजना जस्तो काम हुँदैन भनेर महानगरले टारेको पनि आरोप लगाए । महानगर र पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै छ ।
विमानस्थल आयोजना प्रमुख मुनान्कर्मी पनि महानगरको फोहोर फाल्ने ठाउँ नजिकै भएकोले समस्या निम्तीने बताउँछन् । ‘ल्याण्ड फिल नजिकै छ । गिद्ध आउँछ, चराचुरुङ्गी आउँछन् । विमानस्थलले चराचुरुङ्गी हटाउन आफ्नो काम त गर्छनै त्यसको लागि छुट्टै निकाय पनि छ,’ उनले भने, ‘तर, महानगरले त्यहाँबाट फोहोर फाल्ने ठाउँ सारेन भने जहाज उँडानमा थुप्रै समस्या निम्तिन्छ । चराहरु धेरै भए ठोकिने, दुर्घटना सम्भावना हुन्छ ।’

समय अगावै निर्माण सकिने
आयोजनाले विमानस्थल निर्माणको सम्पूर्ण काम २०७७ सालको पुससम्ममा सक्ले लक्ष्य राखेको छ । नेपाली र चिनीयाँ गरेर झण्डै पाँचसय हाराहारी कामदारले विमानस्थलको विभिन्न निर्माणको काम गरिरहेका छन् । रनवेको काम सकिसकेको निर्माण कम्पनीले ट्याक्सी पार्कीङमा पनि दोस्रो चरणको काम सकिकेको छ । २०१७ को नोभेम्बरमा निर्माण सुरु भएको विमानस्थलमा टर्मिनल भवन धमाधम बनिरहेको छ । सम्झौता भने २०२१ को जुलाइ १० सम्म छ । विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवन १४ हजार वर्गको हुनेछ । टर्मिनल भवनको शिलान्यास स्व.पर्यटन मन्त्री रबिन्द्र अधिकारीले गत वर्षको भदौमा गरेका थिए । उक्त टर्मिनल स्वदेशी र विदेशी उँडानको लागि छुट्याइएको छ । आठ हजार स्क्वायर मिटर अन्तराष्ट्रिय र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग हुनेछ । पोखरा विमानस्थलमा ल्याण्ड गर्ने विमानहरु अहिले विश्वमा धेरै उँडान भरिरहेका मझौला खालका १४० सिट क्षमताका विमानहरुले उँडान भर्नेछन । मुनाकर्मीका अनुसार २०१९ मा ६० प्रतिशत र २०२० को भित्र ४० प्रतिशत काम सक्ने आयोजनाको लक्ष्य छ । वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । २०२१ को जुलाइमा अन्तराष्ट्रिय उँडान गर्ने लक्ष्य आयोजनाको छ ।
छिट्टै हटाउँछौँ महानगर
पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपालीले महानगर यसबारे निरन्तर लागिरहेको बताए । उनले भने, ‘महानगर यसमा चासोका साथ लागिरहेको छ । छिट्टै बैकल्पीक ठाउँको ब्यवस्था गर्दैछौँ ।’
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.