www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन वर्ष सफल बनाउन गण्डकीका सबै जिल्लामा उपसमिति

पोखरा ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन सबै जिल्लामा उपसमिति गठन गरिने भएको छ । सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन ११ जिल्लामा जिल्लास्तरीय उपसमिति गठन गर्न लागिएको हो ।

सरकारी तथा गैरसरकारी क्षेत्र मिलेर १५ लाख पर्यटक गण्डकी प्रदेशमा खासगरी पोखरा र तीमध्ये ५० प्रतिशत पोखराबाहेकका जिल्लामा पर्यटक भित्र्याउन जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरिने आन्तरिक पर्यटन भ्रमण वर्षका संयोजक जुद्ध गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार पालिकास्तरमा पालिका प्रमुखको संयोजकत्वमा नौ सदस्यीय ८५ वटा स्थानीय तहका स्थानीय उपसमिति, मन्त्रालयको सचिवको संयोजकत्वमा नौ सदस्यीय कार्यक्रम कार्यान्वयन उपसमिति र नौ वटा विषयगत उपसमिति गठन गरिनेछ ।

प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन भइसकेको छ । उक्त समितिमा नीति तथा योजना आयोग, मन्त्रालयका सचिव, ८५ वटा स्थानीय तहका प्रमुख, पर्यटन व्यवसायीका प्रतिनिधि सदस्य छन् ।

जिल्लास्तरमा गठन हुने उपसमितिलाई नेपाल सरकार तथा प्रदेश सरकारले घोषणा गरेका पर्यटन तथा भ्रमण वर्ष सञ्चालन गर्न जिल्लाभित्र रहेका सम्भावना र अवसरलाई अध्ययन गरी आवश्यक नीतिगत व्यवस्था तथा सुधार गर्न मूल आयोजक समितिलाई सुझाव दिने तथा कार्यक्रम सञ्चालनमा सहयोग तथा समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

जिल्ला तथा स्थानीय तहमा सञ्चालन गरिने तथा गरिएका पर्यटन तथा भ्रमण वर्षका कार्यक्रमको योजना, अनुगमन र मूल्याङ्कन गर्ने, स्थानीय तहका पर्यटन तथा भ्रमण वर्ष आयोजक समितिलाई समन्वय तथा मार्गनिर्देशन गर्ने र जिल्ला तथा स्थानीय तहमा सञ्चालन गरिएका पर्यटन तथा भ्रमण वर्षका कार्यक्रमको प्रगति तयार गरी मूल आयोजक समितिमा छलफलका लागि पेश गर्ने अधिकार उपसमितिलाई छ ।

जिल्लाको सीमामा पर्यटन वर्ष २०१९–२२ को स्वागतद्वार बनाउने, ऐतिहासिक तथा पुरातात्विक स्थानको खोजी गरी अभिलेख राख्ने, विद्यमान पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण गर्न सरोकारवाला निकायसित सहजीकरण गर्ने, उपलब्ध पर्यटकीय गन्तव्यको सम्पूर्ण सूचना सङ्कलन गर्ने, दस्तावेज तयार गरी प्रकाशन गर्ने, जिल्लाका घरबास कार्यक्रमलाई सहजीकरणमा समन्वय गर्नेलगायतका कार्यक्रम जिल्लास्तरमा सञ्चालन गरिने संयोजक गुरुङले जानकारी दिए ।

पालिकास्तरमा पालिकाको कार्यालयमा पर्यटन वर्ष २०१९–२२ को व्यानरले सजाउने र पालिकाको सीमामा प्रवेशमार्गमा स्वागतद्वार बनाउने, ऐतिहासिक तथा पुरातात्विक स्थानको खोजी गरी अभिलेख राख्ने, विद्यमान पर्यटकीय गन्तव्यको पूर्ण विवरण सङ्कलन गरी प्रकाशन गर्नेलगायतका कार्यक्रम सञ्चालन हुनेछ ।

आन्तरिक पर्यटन भ्रमण वर्षका लागि प्रदेश सरकारले पर्यटन वर्ष २०१९–२२ कार्यक्रम सञ्चालन कार्यविधि २०७६ तयार गरी स्वीकृत गरिसकेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए । मन्त्री लम्सालका अनुसार साङ्गठनिक संरचनाको व्यवस्था भई विभिन्न समिति गठन गर्ने व्यवस्था शुरु गरिएको छ ।

मन्त्री लम्सालका अनुसार पर्यटनबाट प्राप्त लाभलाई विपन्न वर्गसम्म पुर्याउने वातावरण सिर्जना गर्ने, पर्यटन प्रर्वद्धनका लागि मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण गर्ने र सङ्घीय सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यसहित प्रदेशमा आन्तरिक पर्यटन भ्रमण वर्ष कार्यक्रमको शुभारम्भ गरिएको हो ।

उनका अनुसार सन् २०१९ मा १५ लाख पर्यटक र सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ ।नेपालमा सन् १९६२ मा करीब छ हजार १७९ पर्यटक नेपाल भित्रिएका थिए ।सन् १९८० मा एक लाख ६२ हजार १९७, २००० मा चार लाख ६३ हजार ६४६, सन् २०१८ मा ११ लाख ७६ हजार ७२ पर्यटक नेपाल भित्रिएको भ्रमण वर्ष संयोजक गुरुङले जानकारी दिए ।

सन् २०१७ मा पर्यटक बसाईंको अवधि सरदर १२।६ दिन र ५४ डलर प्रतिदिन खर्च गरेको र सन् २०१९ मार्चमा बसाईं अवधि १२.४ दिन र प्रतिदिन खर्च ४४ अमेरिकी डलर रहेको छ ।गण्डकी प्रदेशमा विश्वका आठ हजार मिटरभन्दा अग्ला नेपालका आठमध्ये तीन वटा अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमाल रहेकाले सरकारले लक्ष्य गरेबमोजिम पर्यटक भित्र्याउन कुनै समस्या नरहेको गुरुङले जानकारी दिए ।

प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष, सन् २०२१ लाई तयारी भ्रमण वर्ष र २०२२ लाई अन्तरराष्ट्रियस्तरको प्रदेश पर्यटन वर्षका रुपमा घोषणा गरेको छ ।

गण्डकी प्रदेशमा पर्यटनको इतिहास

सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाइ कावागुची तिब्बत जाने क्रममा मुस्ताङ भई गएकाले पहिलो पर्यटक गण्डकी प्रदेशमा प्रवेश भएको इतिहास छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही माउरिस हरजोगका टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहणपश्चात् संसारभर यस प्रदेशको प्रचार भएको थियो । सन् १९५० मा स्वीस भूगोलविद् टोली हेगनले हिमालयन अधिराज्य नामको पुस्तकमा पोखराबारे अलौकिक स्थान भनी वर्णन गरेका थिए ।

सन् १९८६ मा करीब दुई लाख २३ हजार ३३१ पर्यटक नेपाल आएकामा करीब १५ प्रतिशत पर्यटक पोखरा भ्रमणमा आएका थिए । हाल नेपाल आउने ३५ प्रतिशत पर्यटकले पोखरा भ्रमण गर्ने तथ्याङ्कले देखाएको छ ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ०७५÷७६ मा करीब तीन लाख पर्यटक पोखरा भित्रिएका छन् । सन् २०१८ मा १६७ देशका करीब एक लाख ८० हजार पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरेका छन् ।

सरकारबाट पृथ्वी र सिद्धार्थ राजमार्ग जस्ता सडक सञ्जाल निर्माण, काठमाडौँ पोखरा हवाई सम्पर्क स्थापना, निजी क्षेत्रबाट पर्यटकको हवाई सेवा विस्तार, रेस्टुराँ, ट्राभल एजेन्सीलगायत विभिन्न विधिद्वारा पर्यटकलाई सेवा सुविधा थपिँदो अवस्थामा छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सरकारले घोषणा गरेको अभियान सफल बनाउनु सबैको दायित्व भएकाले तनहुँमा पनि छिट्टै उपसमिति गठन गरिने जानकारी दिए ।“सरोकारवालाको बैठक राखेर छिट्टै नै उपसमिति गठन गर्ने प्रक्रियामा छौँ”, उनले भने, “उपसमिति गठन भएपछि भ्रमण वर्षका कार्यक्रम जिल्लास्तरमा सञ्चालन गर्न सहज हुनेछ ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.