www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा डेंगुको संक्रमण बढ्दो : ट्राफिक प्रहरी र चिकित्सक नै डेंगुको शिकार !

पोखरा ।

पोखरामा डेंगुको जोखिम बढ्दो क्रममा छ । अहिले पोखरामा करिब ५०० जनालाई डेंगुको संक्रमण भएको भेटिएको हो । पोखरा महानगरको ८ र ९ नम्बर वडामा जोखिमकै रुपमा डेंगु देखिएको चिकित्सकहरुले जनाएका छन् । पोखरामा कार्यरत ट्राफिक प्रहरी र डेंगुको विरामीको उपचारमा संलग्न चिकित्सकलाई नै डेंगुको संक्रमण भएको पाइएको छ ।

‘महानगरको ८, ९ वडा क्षेत्रमा खटिएका ट्राफिकमा पनि डेंगुको संक्रमण भएछ,’ ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख मुरारी मिश्रले भने, ‘यसको भाइरल संक्रमण भएका ट्राफिकहरुको पोखराका विभिन्न अस्पताल र नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।’ उनको अनुसार अन्य ५ ट्राफिकमा पनि डेंगुकै लक्षण देखिएको छ ।

Batas

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका यम बरालका अनुसार उपचारमा संलग्न चिकित्सकहरुलाई पनि डेंगुको संक्रमण देखिएको छ । पोखरा महानगरको ८ र ९ नम्बर वडा सबैभन्दा बढि डेंगुको जोखिम भएपनि २७ वटा वडामा यसको संक्रमण देखिएको छ ।

लक्षण 

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
– असाध्यै टाउको दुख्ने
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
– ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
– शरीरमा विमिरा आउने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

 बच्ने उपाय

– डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
– पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने
– पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
– फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
– यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
– लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ ।
– घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
– घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.