www.tandavnews.com
Fact ~ In search of truth

विसं २०८५ सम्म शिक्षित नेपाल बनाउने लक्ष्य

काठमाडौँ।

विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको ज्ञानज्योति महिला विद्यालयबाट २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् । विसं २०६२ भदौ १५ गते स्थापना भएको विद्यालयमा हाल २८६ जना विद्यार्थी अध्ययनरत् छन् ।

विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विसं २०८५ सम्म नेपाललाई शिक्षित मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य हासिल गर्न यस्ता काम सहयोगी हुने बताए। व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवद्र्धन गर्ने गरी शिक्षा नीति जारी गर्ने अन्तिम तयारीमा लागिएको पनि उनले सो अवसरमा सुनाए ।

Batas

सांसद गगनकुमार थापाले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार कक्षा ५ का ७० प्रतिशत विद्यार्थीले गणित, अङ्ग्रेजी र नेपालीसमेत सिक्न नसक्ने तथ्य सार्वजनिक गरेकाले गम्भीर हुनुपर्ने समय आएको बताए । मन्त्रालयकै अध्ययनले आमाले स्नातक तहसम्म उत्तीर्ण गरेका बालबालिकाको परिणाम राम्रो पाइएकाले पनि महिला शिक्षा अनिवार्य गरिनुपर्नेमा उनले जोड दिए ।

पद्मकन्या क्याम्पसका प्रा डा गोविन्दप्रसाद गुरागाईंले नारी सम्मानित हुने घर, परिवार, समाज र देश नै समृद्ध हुन सक्ने भएकाले शिक्षामा समान रुपमा अघि बढाउनुपर्ने विचार राखे ।

नेपाली काङ्ग्रेसका नेता बालकृष्ण दाहाल, काठमाडौँ महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, विद्यालयका प्रधानाध्यापक कोपिला खतिवडा, कार्यक्रम संयोजक नरहरि ढकाल, उत्प्रेरणा महिला माध्यमिक विद्यालयका प्रधानाध्यापक सुमित्रा मैनालीलगायतले उमेरमै पढ्न नपाएका महिलाका लागि शिक्षित बन्न विद्यालयले अवसर प्रदान गरेको विचार राखे ।

विद्यालयमा कक्षा ८ भन्दा तल एक वर्षमा दुई पटक कक्षा चढाइन्छ । कक्षा नौ पढ्नुनपर्ने विद्यालयमा कक्षा ८ र १० मात्र एक वर्षको हुने जनाइएको छ । यो विद्यालयमा १४ वर्ष उमेर पार गरेकालाई मात्र भर्ना लिने गरिएको छ । (रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.