www.tandavnews.com
Fact ~ In search of truth

गैँडा गणना चैतमा, डेढ कराेड खर्च लाग्ने

चितवन ।

यस वर्ष गैँडा गणना आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा गैँडा गणना गर्न सकिएको थिएन् । गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोजन गरेको छ ।

चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन् । ती सबै निकुञ्जमा गैँडा गणना एकसाथ गरिने छ । विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार चैत १ गतेदेखि गैँडा गणनाका लागि गृहकार्य शुरु भइसकेको छ । निकुञ्जहरुमा प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्यदल गठन हुने क्रम शुरु भएको छ । “विभागमा पनि छुट्टै समिति गठन हुनेछ”, कँडेलले भने।

Batas

गैँडा गणनाका लागि विभागले रु एक करोड १० लाख विनियोजन गरेको छ । अपुग रकमका लागि दाताको भर पर्नुपर्ने विभागले जनाएको छ । सवै निकुञ्जमा गैँडा गणना गर्दा रु एक करोड ५० लाख हाराहारी खर्च हुने कँडेलले जानकारी दिए । गत वर्ष विभागले बजेट विनियोजन गरेको थिएन । सबै रकमका लागि दाताको भर पर्दा बजेट अभावले गणना हुन सकेको थिएन ।

कँडेलका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गणना गर्न करिब एक महिना लाग्ने छ भने अन्य निकुञ्जमा संख्या अनुसार एक सातादेखि दश दिनसम्म लाग्ने अनुमान गरिएको छ । सबैभन्दा बढी गैँडा चितवनमा छ । सन् २०१५ को गणना अनुसार देशभर ६ सय ४५ गैँडा रहेका थिए । छ सय पाँच गैँडा चितवन निकुञ्जमा थिए । दुई वर्ष अघि आएको बाढीका कारण चितवनमा धेरै गैँडा बगाएको थियो । केही गैँडा मृत भेटिएका थिए । गैँडाको वास्तविक सङ्ख्या पत्ता लगाउन गत आवमा गणनाको तयारी गरिएको थियो ।

प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार कार्यदलको बैठकले सहायक संरक्षण अधिकृतको संयोजकत्वमा उपकार्यदल गठन गरी आवश्यक पर्ने सामग्री, बजेटलगायत विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

यसैगरी हात्तिसारका शाखा अधिकृतको संयोजकत्वमा प्रयोग गर्न सकिने हात्तिका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न अर्को समिति गठन गरिएको ढकालले जानकारी दिए ।

कार्यदलमा साझेदार संस्थासँगै सरोकारवाला निकायका प्रमुख सदस्य छन् भने उपकार्यदलमा तिनका प्रतिनिधि सदस्य छन् । गैँडा गणना हुने भए पछि निकुञ्जले घाँसे मैदान व्यवस्थापन, फायर लाइनलगायत नियमित कामको कार्यतालिका अहिले नै निर्माण गरी काम अघि बढाइने निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.