
सञ्जय रेग्मी,
पर्वत /ताण्डव न्युज
जिल्लाको कुश्मा नगरपालिका– ६ मा रहेको शिवालय माध्यमिक विद्यालयमा नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता आयोजना भयो। सदरमुकामकै अर्को बिद्यालय नारायण माध्यमिक विद्यालय सहित निजी तथा आवासीय विद्यालयहरुले पनि बिद्यालयहरुमा तीज गीत प्रतियोगिताको आयोजना गरे।
जुन–जुन विद्यालय वा समुदायहरुमा तीज गीत प्रतियोगिताहरु आयोजना गरिएका छन, प्रायजसो ठाउँमा बिद्यार्थीहरुले गाउने गीतमा पहिलेका भन्दा फरक खालका कथा र ब्यथा देखिन थालेका छन्। तीजका गीत भन्दा साथ अपेक्षा हुन्छ परम्परावादी कुराहरुको बारेमा शब्द बोलिन्छ। छोरी भएकै कारण घरमा आमा बुबा र बाहिरी समाजले गर्ने तिरस्कारका बारेमा दुखेसो र गुनासो पोखिन्छ। तर देशमा महिलामाथि भएका घट्ना तथा दुव्र्यबहारका घट्नाहरुले तीजका गीतको आशय नै बदलिदिएको छ।
अहिलेका गीतहरुमा निर्मला हत्याकाण्ड, पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकी अस्मिता कार्कीको बाँकी जीवन, किशोरीमाथि भइरहेका एसिड आक्रमण, सिरिन्ज आक्रमण लगायतका बिषयमा कुरा उठाउने गरेको पाइएको छ।
शिवालय माविका विद्यार्थीहरुले गीतमा प्रतिस्पर्धा गरिरहँदा ‘बलात्कारको शिकार बनिन निर्मला ती बालिका, आफ्नै ज्यू, आफ्नै जोवन तर अर्कै मालिक’ भन्दै थिए। यस्तै नारायण माविमा गीत गाउँदै गरेका बिद्यार्थीहरुले बनाएको गीतमा ‘अप्ठ्यारोमा पर्यो बरै अस्मिताको न्याय, चोखो माया गर्नेलाई पो भयो सजायँ।’ भन्ने शब्दहरुले कसैलाई पवित्र प्रेम गरेकी नारीले देशभरी प्रेमको बेइज्जती सहनुपरेको र उनलाई अप्ठ्यारोमा पार्ने काम भएको दावी गरेका छन्।
समाजमा भएका हरेक घट्नामा विद्यार्थीहरु प्रत्यक्ष रुपमा जोडिने भएका कारण पनि देशका क्रियाकलापले उनीहरुलाई मानसिक तनाव दिएको बताउँछन् मनोविज्ञान बिषयका शिक्षक गोविन्द पोखरेल। ‘पहिले पहिले सूचना तथा सञ्चारको माध्यमहरुको यस्तो विकास भएको थिएन, जहाँ जे भएपनि त्यो समाचार बाहिर आउन कठिन थियो,’ उनले भने, ‘अहिले जहाँ जे भएपनि तुरुन्तै मिडियामा आउँछ, बिद्यार्थीहरुले थाहा पाइहाल्छन्।
यही कारण उनीहरुका गीतमा महिलामाथि गरिएका हिंसाका कुरा देखिएका हुन्।’ महिलाहरुमाथि भैरहेका हिंसाका घट्नाका कारण बिद्यार्थीको मानसिक अवस्थामा गम्भीर असर गरिरहेको उनीहरुको मनोवृत्ति हिंसा गर्नेहरुका बिरुद्धमा आक्रमक बन्दै गएको पोख्रेलको भनाइ छ।
पाको पुस्ताले अझै पनि तीजका गीतमा विवाह गरेर गएको घरमा आफुले भोग्नुपरेको पीडा, श्रीमानले दिएको दुःख, चाडपर्वमा माईत जान नपाएको कथा लगायतका कुराहरु समेटेर गीत गाइरहेका सुनिन्छन्। तर, पाका पुस्ताकै कतिपय गीतहरुमा समेत हिंसा, देशको समसामयिक अवस्थाका बारेमा पनि सुन्न सकिन्छ। ‘महिलामाथि भइरहेका हिंसा र उत्पीडनका घट्नाहरुले उनीहरुको भावनामा परिवर्तएन गराइदिएको छ।
मान्छेले जे भोगेको हुन्छ, गीतमा त्यही गाउने हो,’कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्mले लामिछाने भन्छिन्, ‘अहिलेका महिलामाथि सौता हाल्ने, घर निकाला गर्ने, खाना खान नदिने लगायतका घट्नाहरुमा निकै कमी भएको अनुभव गर्न सकिन्छ, तर अर्कोतर्पm बलात्कार, सिधै हत्या, एसीड आक्रमण, मर्न बाध्य पारिनु लगायतका घट्नाहरु भइरहेका छन्। गीतमा पनि यिनै भावनाहरु देखा परेका हुन्।’
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.