www.tandavnews.com
Fact ~ In search of truth

धार्मिक पर्यटकीय क्षेत्र बन्दैँ वालिङको घ्वाङखोला

वालिङ ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ ।

वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बरमा अवस्थित घ्वाङखोलालाई आवश्यक भौतिक पूर्वाधार निर्माण गरेसँगै आन्तरिक तथा बाह्य धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र वनदै गएको हो ।

वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन किलोमिटरको दूरीमा रहेको घ्वाङखोलासम्म पुग्न सडकको सहजता रहेको छ । स्थानीयवासीले बिहानी तथा साँझको समयमा हिँड्ने गन्तव्यको रुपमा यस ठाउँलाई रोजाइमा राख्ने गरेका छन् ।

प्रकृतिको उपहारस्वरुप प्राप्त घ्वाङखोला सामुदायिक वनको घना जङ्गल, मनमोहक प्रकृतिको छटासँगै कृत्रिमरुपमा वनाइएका पुल, स्विमिङ पुल, माछा पोखरी, उद्यान, विभिन्न प्रकारका पिङ निर्माण गरिएको छ ।

यसै ठाउँमा धार्मिक पर्यटनलाई आकर्षित गर्नका लागि शिव पार्वतीको मन्दिर, विशाल हनुमानको मूर्ति, विभिन्न भगवान्, नाग तथा जनावरका मूर्ति निर्माण गरिएकै कारण धार्मिक एवं पर्यटकीय क्षेत्रका लागि आकर्षण केन्द्र वन पुगेको व्यवस्थापकीय संस्था ग्रहौंसुर धार्मिक तथा वन पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले बताए ।

अध्यक्ष खाँणका अनुसार शहरी वन प्रर्वद्धन तथा उद्यान पार्क निर्माण कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालय स्याङ्जामार्फत आर्थिक वर्ष २०७५/०७६ मा पन्ध्र लाख र गण्डकी प्रदेश सरकारबाट तीन लाख प्राप्त भएको छ ।

वालिङ नगरपालिकाभित्रका १४ वटा वडामा प्रत्येक वडामा एक÷एक वटा वडास्तरीय पार्क, तीन वटा नगरस्तरीय पार्क बनाउने योजना रहेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

नगर प्रमुख खाँणका अनुसार घ्वाङखोलालाई चिल्ड्रेन पार्क, मनोरञ्जन पार्क, मानव निर्मित ताल, वाटर फन पार्क, नलेज पार्कको रुपमा विकसित गर्नुका साथै सोही ठाउँमा पर्यटकलाई लक्षित गरी पर्यावरणीय रिसोर्ट निर्माण गर्ने योजना नगरको छ ।

वडास्तरीय तथा नगरस्तरीय अन्य पार्क निर्माणका लागि डिजाइन गरी डिपिआरको काम यसै चालू आर्थिक वर्षमा सम्पन्न गरी काम थालिने नगर प्रमुख खाँणले बताए ।घ्वाङखोलामा प्रकृतिले दिएको वरदानसँगै कृत्रिम पूर्वाधारको निर्माणले यस क्षेत्रको महत्वलाई वृद्धि गर्दै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको क्षेत्रको रुपमा विकास गर्ने गरी काम निरन्तर भइरहेको नगर प्रमुख खाँणले बताए ।

“वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउँदै गर्दा नगरभित्र पार्कको आवश्यकता महसुस गरी घ्वाङखोलामा पूर्वाधार निर्माण गरिरहेका छौँ”, उनले भने, “यस क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने क्रममा पूर्वाधार निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ अब छिट्टै नै व्यवस्थित तरिकाले सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित गर्छौं ।”

घ्वाङखोलामा आवश्यक पूर्वाधार क्रमशः निर्माण गर्दै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थान बनाउने लक्ष्य रहेको वडा नं १० का वडाध्यक्ष अनन्तराज गैह्रेले बताए ।“स्मार्ट सिटी निर्माण गर्ने क्रममा वालिङ नगरपालिका रहेकाले पनि वालिङमा पार्कको आवश्यकता छ” वडा अध्यक्ष गैह्रेले भने, “नगरको आवश्यकता पूरा गर्ने गरी घ्वाङखोलामा काम अगाडि बढिरहेको छ ।”

विगतदेखि नै यस ठाउँमा वनभोज तथा घुम्नका लागि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकाले यसलाई थप व्यवस्थित गरिएको वडा अध्यक्ष गैह्रेले बताए ।वडाध्यक्ष गैह्रेका अनुसार अहिले यस ठाउँमा वनभोजका लागि आउनेलाई लक्षित गरी आवश्यक भाँडावर्तन, दाउरा तथा अन्य सामग्री उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।

यस ठाउँलाई संरक्षण गर्नका लागि चारैतिर तारबार गरिएको छ भने पार्कको संरक्षण तथा रेखदेखका लागि एकजना हेरालु नियुक्ति गरिएको वडाध्यक्ष गैह्रेले बताए।जिल्लाकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय आस्थाको केन्द्रका रुपमा विकास हुँदै गरेको ग्रहौंसुर मन्दिरसम्म पुग्ने सडक पनि यसै स्थान भएर जाने भएकाले मन्दिरमा पुग्ने दर्शनार्थीलाई यस ठाउँमा लैजाने गरी काम भइरहेको वडा नं. ८ का वडाध्यक्ष कमलप्रसाद सुवेदीले बताए ।

झण्डै १३० हेक्टर क्षेत्रफलमा फैलिएको घ्वाङखोला सामुदायिक वनको दिगो आम्दानीको स्रोतको रुपमा पार्कलाई विकास गर्न सकिने डिभिजन वन कार्यालय स्याङ्जाका सहायक वन अधिकृत वसन्तकेशव अधिकारीले बताए।

घ्वाङखोलामा पर्यापर्यटन विकासका लागि उद्यम स्थापना गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको सहायक वन अधिकृत अधिकारीले बताए । अधिकारीका अनुसार कार्यालयले जिल्लाका पाँच ठाउँमा पर्यापर्यटन विकासका लागि आर्थिक सहयोग गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.