www.tandavnews.com
Fact ~ In search of truth

राजनीतिक भर्ती कारण धरासायी बन्दै : मुख्यमन्त्री गुरुङ

तनहुँ ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज यहाँ आयोजित १०औँ वार्षिक साधारणसभा तथा ३३औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले विद्यालय र क्याम्पस राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भइरहेका कारण शिक्षा क्षेत्र धरासायी हुँदै गएको बताए ।

Batas

राजनीतिक आस्थाका आधारमा विद्यालय र क्याम्पसमा पदाधिकारी र प्राध्यापक नियुक्त हुने परम्परा अन्त्य गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले भने, “शिक्षा क्षेत्रमा राजनीतिक आस्था हेर्नु हुँदैन, क्षमता हेर्नुपर्छ तबमात्र शैक्षिक विकास सम्भव हुन्छ ।”

आवश्यकताको आधारमा मात्रै शिक्षण संस्था खोल्नुपर्नेमा नेताको लहर, अहङ्कार र अस्वस्थ प्रतिस्पर्धाले अन्धाधुन्ध विद्यालय र क्याम्पस खोल्ने प्रवृत्ति बढेकाले त्यसले समाजलाई बोझ थोपरेको चर्चा गर्दै उनले जोड दिए, “यसको अन्त्य नभएसम्म हाम्रो समाजको उत्थान पनि राम्रो हुँदैन र शिक्षाको गुणस्तर पनि वृद्धि हुन सक्दैन ।”

यस क्याम्पसले उल्लेख्य प्रगति हासिल गर्न गरेकामा खुशी व्यक्त गर्दै उहाँले समुदायले पनि यति राम्रोसँग क्याम्पस चलाउन सक्ने रहेछ भन्ने उदाहरण आदिकविले प्रस्तुत गरेको बताए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले यस क्याम्पसले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाले यसको विस्तार र विकासका लागि प्रदेश सरकारको सहयोग रहने बताए।

प्रदेश सभासद् केदार सिग्देल आशा कोइराला, डोबाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले विद्यार्थी, अभिभावक र प्राध्यापकको लगावका कारण क्याम्पसले सफलता प्राप्त गरेको र अब यसमा प्राविधिक शिक्षा थप गर्नुपर्ने आवश्यकता औँल्याए ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले शैक्षिक बजारको माग अनुसारको जनशक्ति उत्पादनलाई जोड दिइएको र महिला, जनजाति, दलित, अल्पसङ्ख्यक, तथा विशेष क्षमता भएका विद्यार्थीको भरोसाको केन्द्रको रुपमा यो क्याम्पस स्थापित हुन सफल भएको बताए।

सोही अवसरमा उक्त क्याम्पसलाई सहयोग गर्ने व्यास नगरपालिका–२का रमेशदत्त वाग्ले, व्यास नगरपालिका–१०का विष्णु ढकाल, म्याग्दे गाउँपालिका–२का विष्णुबहादुर अधिकारी, व्यास नगरपालिका–१२का वेदनाथ कैनी, व्यास नगरपालिका–२का सन्तकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

विसं २०४४ मा समुदायबाट सञ्चालित उक्त क्याम्पसमा दुई हजार ५०० विद्यार्थीमध्ये दुई हजार (८० प्रतिशत) छात्रा रहेको क्याम्पसले जनाएको छ । कूल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत दलित र ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् ।

क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । उक्त क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थी क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेको क्याम्पसले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.