www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा मोडल फार्मलाई दुई करोड अनुदान

तनहुँ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा दुई करोड ४० लाख अनुदान दिन लागेको हो ।

प्रत्येक स्थानीय तहमा कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायको कम्तीमा एक नमूना फार्म स्थापना गर्ने उद्देश्यसहित कृषकलाई अनुदान वितरण गरिने केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । पशुपक्षी तथा मत्स्य मोडल फार्म कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिने र प्रस्ताव हेरेर कृषकलाई फार्म स्थापनाका लागि रकम प्रदान गरिनेछ ।

Batas

गत आर्थिक वर्षमा कार्यालयले ४६ फार्मलाई एक करोडभन्दा बढी अनुदान वितरण गरेको थियो । कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्ने उद्देश्यसहित तनहुँ र नवलपुरका ४६ फार्मलाई गत वर्ष एक करोड ३३ लाख ७३ हजार अनुदान वितरण गरिएको केन्द्रले जनाएको छ ।

मोडल फार्म परियोजना कार्यक्रमप्रति कृषक आशावादी र उत्साहित देखिएका छन् । यो कार्यक्रमले व्यावसायिक पशुपालनमा उल्लेख्य वृद्धि भएकाले स्वरोजगार सिर्जना भएको छ ।

कम्तीमा पाँच रोपनी जमीन भएको उन्नत प्रविधियुक्त कृषि फार्म जसको आम्दानीले कम्तीमा पनि परिवारलाई आत्मनिर्भर बनाउने गरी व्यावसायिक रुपमा कृषि तथा पशुपक्षीजन्य उत्पादनको लागि स्थापना गरिएको फार्म हुनुपर्नेछ ।

केन्द्रले माछापोखरी निर्माणका लागि पाँच हेक्टर क्षेत्रफललाई १० लाख, मत्स्य फार्म यान्त्रिकरणका लागि दुई लाख ५० हजार र माछा भुरा ढुवानीका लागि एक लाख अनुदान दिने भएको छ ।

पशुपक्षी बजार पर्वद्धन कार्यक्रम अन्तर्गत मासु पसल सुधारका लागि छ लाख, डेरी पसल सुधारका लागि छ लाख, दाना बनाउने मेसिन खरीदका लागि एक लाख ५० हजार र दुग्ध चिस्यान केन्द्र स्थापनाका लागि तीन लाख दिइने भएको छ ।

केन्द्रका प्रमुख डा .श्रेष्ठका अनुसार पशुपक्षी तथा मस्त्य क्षेत्रको विकासमार्फत समृद्ध प्रदेश निर्माणमा सहयोग गर्ने उद्देश्यसहित ‘एक पालिका, एक पशुपक्षी÷मत्स्य उत्पादन’मा जोड तथा ‘एक जिल्ला, एक घाँसेबाली स्रोतकेन्द्र’ स्थापना गर्ने रणनीति अवलम्बन गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.